जितन चौधरीद्वारा बटौलियाका खेलाडीलाई जर्सी हस्तान्तरण

साझेदारी डेलि
29 पाठक संख्या

कोल्हबी । धिरेन्द्र पनुहर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोल्हबी नगर कमिटीका उपसभापति जितन प्रसाद चौधरीले आइतबार खेलाडीहरुलाई जर्सि हस्तान्तरण गरेका छन्।

स्थानीय खेलाडीहरूलाई खेलकुदप्रति आकर्षित गराउने तथा उनीहरूलाई खेल क्षेत्रमा अगाडि बढ्न प्रोत्साहन गर्ने उद्देश्यले श्री फ्रेन्स क्लब, कोल्हबी–१ बटौलियाका खेलाडीहरूलाई १६ थान जर्सी उनले हस्तान्तरण गरेका हुन्।

क्लबका अध्यक्ष त्रेता चौधरीले सहयोगका लागि उपसभापति जितन प्रसाद चौधरीलाई धन्यवाद व्यक्त गरे। उनँले स्थानीय खेलाडीहरूको हौसला बढाउन गरिएको सहयोग महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि चौधरीको योगदानलाई क्लबले सधैं स्मरण गर्ने बताए।

जर्सी दाता तथा रास्वपा कोल्हबी नगर कमिटीका उपसभापति जितन प्रसाद चौधरीले पछिल्लो समय युवाहरू लागू पदार्थको कुलतमा फस्ने जोखिम बढिरहेको जनाए। खेलकुदले युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

खेलकुदका माध्यमबाट युवाहरूलाई लागू पदार्थको कुलतबाट टाढा राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले बटौलियाका खेलाडीहरूलाई अगाडि बढाउन आफूले आवश्यक सहयोग गर्न तयार रहेको बताए।

चौधरीले पहिलो चरणमा बटौलियाका खेलाडीहरूलाई जर्सी उपलब्ध गराइएको जानकारी दिए। आगामी दिनमा कोल्हबी नगरपालिकाका प्रत्येक वडाका खेलाडीहरूलाई आवश्यक खेलकुद सामग्री तथा जर्सी उपलब्ध गराउने योजना रहेको उनले बताए।

स्थानीय स्तरमा खेलाडीको पहिचान र प्रतिभाको विकासका लागि निरन्तर सहयोग गर्ने उनको भनाइ थियो। सोही कार्यक्रममा थारु संघ कोल्हबी नगरपालिका–१ का सभापति ईश्वर चौधरीले क्लबलाई नगद रु. १ हजार सहयोग गरे।

कार्यक्रममा मुक्ति चौधरी र जगदेव चौधरीले मन्तव्य राख्दै स्थानीय खेलाडीहरूको प्रोत्साहन र विकासका लागि समुदायको सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे।

स्थानीय युवाहरूलाई खेलकुदमा सक्रिय बनाउँदै स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैलीतर्फ अघि बढाउन यस्ता सहयोग तथा कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

उक्त जर्सी हस्तान्तरण कार्यक्रममा श्री फ्रेन्स क्लबका अध्यक्ष त्रेता चौधरी, उपाध्यक्ष रामबाबु चौधरी, सचिव अजय चौधरी, कुन्दन चौधरी, कोल्हबी नगरपालिका–१ का वडा सदस्य शिवचन्द्र चौधरी, समाजसेवी जगदेव चौधरी, थारु संघ कोल्हबी नगरपालिका–१ का सभापति ईश्वर चौधरी, रास्वपा कोल्हबी नगरपालिका–१ का वडा सभापति रामचन्द्र चौधरी, गौकरण चौधरी, दिपु चौधरी, लक्ष्मण चौधरी, टेकनारायण चौधरीलगायत गाउँका अगुवा, खेलप्रेमी तथा समाजसेवीहरूको उपस्थिति थियो। सो कार्यक्रमको सहजीकरण क्लबका सचिव अजय चौधरीले गरेका थिए।

Leave a review