सर्बोच्चले मुद्दा खारेज गरेपछि वीरगञ्ज मुख्य सडक बिस्तार हुने बाटो खुल्यो

राम मण्डल
598 पाठक संख्या

वीरगञ्ज । लामो समय देखि बिचाराधिन रहेको वीरगञ्ज महानगरपालिकाको मुख्य सडक विस्तारको मुद्दा खारेज भएको छ।

सर्वाेच्च अदालतमा मुद्दाको सुनुवाइ गर्दै बुधबार सर्बोच्चका न्यायाधीश बिनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले रिट खारेज गरेको हो।

इजलासले मुख्य सडक बिस्तारको विरुद्ध परेको पाँचवटा रिटहरु खारेज गरेको हो ।उक्त रिट खारेज भएसंगै अब मुख्य सडक बिस्तार हुने बाटो खुल्ला भएको छ ।

राजपथअन्तर्गत वीरगञ्ज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस चोक,घण्टाघर,आदर्शनगर,रजतजयन्ती चोक,शङ्कराचार्यद्वार हुँदै मितेरी पुलसम्मको मुख्य सडक विस्तारको मुद्दा सर्बोच्चमा लामो समयदेखी बिचाराधिन रहेको थियोे ।

सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय हेटौंडा र व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले २०७६ सालमा नै सडक विस्तार गर्ने तयारी गरे पनि त्यस आसपासका घरधनीहरु विरोध गर्दै आएका थिए।

सडक विस्तार आयोजनाले एक चरण नापीको कामसमेत सम्पन्न गरिसकेको छ। त्यसअघि सडक विभागले २०६९ साल भदौ १५ गते, सडक डिभिजन कार्यालय हेटौंडाले २०६९ फागुन ११ गते र २९ गते,२०७१ फागुन २ गते तथा २०७३ पुष १८ गते पनि १५ दिने सूचना जारी गरी सडक क्षेत्रमा पर्ने घर टहरा भत्काउन आग्रह गरेको थियो।

सडकको दायाँबायाँका घरधनीहरुले जमिनको लालपूर्जा भएको, स्थानीय तहबाट घरको नक्सा पास गरेको,राज्यलाई विभिन्न कर तिरिरहेको घरजग्गा सित्तैमा लिन नपाइने,जग्गा तथा संरचना नियमअनुसार अधिग्रहण गरेर वर्तमान मूल्यअनुसार मुआब्जा वितरण गरेर मात्रै सडक विस्तार गर्नुपर्ने बताउँदै सर्बोच्चमा रिट दायर गराएका थिए ।

लक्ष्मण साह रौनियारलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सडक डिभिजन कार्यालय हेटौंडा,व्यापारिक मार्ग विस्तार आयोजना कार्यालय वीरगञ्ज,जिल्ला प्रशासन कार्यालय पर्सालगायतलाई विपक्षी बनाएर ७ असोज २०७६ मा सर्वोच्चमा रिट दर्ता गराएका थिए।त्यस्तै बिरेन्द्र कुमार संघाई लगायतले कार्तिक १७,राजकुमारी तुल्स्यान लगायतले पुस २१,भरत प्रसाद रौनियारले २७ माघ २०७७ र सुधीर कुमार बर्णवालले गत जेठ ३० मा मुख्य सडक बिस्तार सम्बन्धि रिट सर्बोच्चमा दायर गराएका थिए ।

त्रिभुवन राजपथअन्तर्गत बाराको पथलैयादेखि पर्साको गण्डकसम्म त्रिभुवन राजपथको अधिकार क्षेत्रभित्र सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ २५/२५ मिटर विस्तार गरिसकेको छ।

व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले पथलैयादेखि गण्डक चोकसम्म ६ लेन सडक निर्माणका काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

Leave a review

This will close in 0 seconds