वर्षाको अभावले धान रोपाइँ प्रभावित : बारामा हालसम्मा १३ प्रतिशत मात्र धान रोपाई

संदिप प्रसाद यादव
218 पाठक संख्या

कलैया । पर्याप्त वर्षा नहुँदा बारा जिल्लामा यस वर्ष धान रोपाइँ अपेक्षाकृत सुस्त बनेको छ। असार २२ गतेसम्म जिल्लाको कुल धान खेतीयोग्य क्षेत्रफलमध्ये करिब १३ प्रतिशत अर्थात् ५ हजार ८६३ हेक्टर जमिनमा मात्रै रोपाइँ सम्पन्न भएको छ।

कृषि ज्ञान केन्द्र बाराका सूचना अधिकारी गणेश महराका अनुसार जिल्लामा करिब ४५ हजार १०० हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान रहेपनि हालसम्म सीमित क्षेत्रमै रोपाइँ हुन सकेको हो।

उनले गत वर्ष यही अवधिसम्म करिब १९ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको स्मरण गराउँदै यस वर्ष वर्षा ढिलो र न्यून भएकाले रोपाइँको दर गत वर्षको तुलनामा ६ प्रतिशतले घटेको बताए।

समयमै पर्याप्त पानी नपर्दा खेत तयारीदेखि रोपाइँसम्म किसानले विभिन्न समस्या भोग्नुपरेको महराको भनाइ छ। यद्यपि जिल्लाका विभिन्न पालिकामा रोपाइँ जारी रहेकाले आगामी दिनमा मनसुन सक्रिय भई पर्याप्त वर्षा भए रोपाइँले तीव्रता लिने अपेक्षा गरिएको छ।

गत आर्थिक वर्ष बारामा ४६ हजार २० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य निर्धारण गरिएको थियो। त्यसमध्ये ४५ हजार ९९ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको थियो, जुन लक्ष्यको करिब ९८ प्रतिशत रहेको कृषि ज्ञान केन्द्रको तथ्यांकले देखाएको छ।

Leave a review

This will close in 0 seconds