समयमा रासायनिक मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्ने आजपा अध्यक्ष साहको माग

साझेदारी डेलि
97 पाठक संख्या

कलैया । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले कृषि मन्त्रीको राजिनामाको माग गरेका छन्। आम किसान मोर्चाद्वारा शुक्रबार बाराको कलैयामा आयोजित ’मलखाद्यको हाहाकार : आपूर्तिमा असफल सरकार कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो माग गरेका हुन्।

उनले किसानलाई मलखाद्य उपलब्ध गराउन नसक्ने कृषि मन्त्री गिता चौधरीको राजीनामा माग गरेका हुन्। सरकारलाई किसान माराको संज्ञा दिदै कृषिप्रधान देशको मुख्यवाली धान रोपाईको समयमा सरकारले किसानलाई रासायनिक मल उपलव्ध गराउन नसकेको उनले जनाए।

किसानलाई रासायनिक मल दिन नसक्ने मन्त्रीलाई कुर्सीमा बस्ने अधिकार नरहेको समेत उनले जनाए। उनले कृषि मन्त्रीलाई असफल भएको संज्ञा दिए।

दुईतिहाईको शक्तिशाली सरकार भएपनी किसानले सरकार भएको अनुभूति गर्न नसकेको गुनासो किसानहरुले गरेका थिए। आजपा अध्यक्ष साहले यो सरकारलाई असफल हुने छुट नभएको बताउदै किसानका समस्या समाधान गर्नुपर्नेमा साहले जोड दिए।

सरकारले किसानलाई मलखाद्य उपलब्ध गराउन नसकेको तथा किसानका समस्या समाधान गर्न नसकेको उनले बताए। भारतबाट रासायनिक मल ल्याउदा किसानलाई दुःख दिने काम आफूलाई स्वीकार्य नभएको उनले बताए।

तराई–मधेसका साथै देशैभरीका किसान अहिले पीडामा रहेको जनाए। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले किसानलाई केहिपनी नदिएको जनाउदै छिमेकबाट किसानले मल ल्याउदा खोस्ने अधिकार कसले दियो भन्दै उनले प्रश्न गरे।

चुनावका बेला ठुलो कुरा गर्ने तर कुर्सीमा पुगेपछि युवा, बिद्यार्थी, किसान लगायतका समस्या समाधान नगरेको उनले जनाए। सरकार रमिते बनेको टिप्पणी आजपा अध्यक्ष साहले गरे।

आम किसान मोर्चा बाराका अध्यक्ष मदन साहको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आजपा नेता अशोक लामा, संविधान सभाका सदस्य एंव आजपा नेता आत्माराम साहको उक्त कार्यक्रममा विशेष उपस्थिति रहेको हो।

कार्यक्रममा आजपाका सुभाष साह, उमेश कुशवाहा, बिजय यादव, विश्वराज पटेल, राजकिशोर साह लगायतका नेताहरूको बिशेष सहभागिता थियो।

Leave a review

This will close in 0 seconds