ईस्लाम धर्मावलम्बीले ईद उल फित्र मनाए

साझेदारी दैनिक
1.3k पाठक संख्या

कलैया :राजेश कुशवाहा / बाराका ईस्लाम धर्मावलम्बीहरुले महान पर्व ईद उल फित्र सोमबार हर्षोल्लासका साथ मनाएका छन्।

ईदको अवसरमा सोमबार बिहान जिल्लाको विभिन्न स्थानमा रहेको मस्जिद परिसरमा मुस्लिम समुदायले नमाज पढेका छन्।

इस्लाम धर्मावलम्बीको एक महिना लामो रमजान समापन भएको खुशीयालीमा ईद–उल–फित्र मनाईएको हो ।

हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यस पर्वमा प्रार्थना,भेटघाट,नयाँ लुगा र मिठाइ आदान–प्रदान गरेर उत्सवको रूपमा मनाइन्छ।यस दिनमा इस्लाम धर्मावलम्बीहरुले पवित्र भइ मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ।

यस्तै आज खुशीका साथ गरिब तथा दुखीलाई दान समेत गरिन्छ ।यो महिना इबादत,दान–पुण्य र सदाचारका लागि विशेष मानिन्छ।मुस्लिमहरूले एक महिनाको रमजानको अवधिभर हरेक दिन बिहानदेखि बेलुकी सुर्य अस्ताउने बेलासम्म रोजा (उपवास) राख्ने गर्छन् ।

यस अवधिमा रोजा खोलेपछि परिवार तथा इष्टमित्रसँग खुशीयाली साटासाट गर्ने परम्परा रहेको छ। नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलासंग आशीर्वाद लिइन्छ।

अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिनमा चन्द्रमा देखिएपछि ईद–उल–फित्र मनाउने गरिन्छ। बारामा करीब सवा लाखको संख्यामा मुस्लीम समुदायको बसोबास रहेको छ।

Leave a review

This will close in 0 seconds