सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ

रासस
270 पाठक संख्या

सुनसरी : गत असोज २५ गते यहाँको रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकमा सिटी सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरेको अरोपमा सात जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामधुनी–१ का ४३ वर्षीय राज किशोर साह, ४० वर्षीय नन्द किशोर साह, सप्तरी राजविराज–१६ का २८ वर्षीय अङ्कित साह, २८ वर्षीय प्रिन्सकुमार दास, भोक्राहा नरसिंह–५ का ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगन्ज–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगन्ज–५ का २५ वर्षीय मिथिलेश यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक केशब थेबेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयले आज इनरुवामा पत्रकार सम्मेलन गरी गत असोज २५ गतेको सो घटनामा पक्राउ परेका बारे जानकारी गराएको थियो । प्रदेश १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी चालक रामधुनी–२ का ४५ वर्षीय चौधरीलाई अपरिचित व्यक्तिले गोली हानी हत्या गरेका थिए । घटनाको अनुसन्धानका क्रममा मृतक चौधरीले तन्त्रमन्त्र गरी परिवारजनलाई लामो समयदेखि दुःख दिँदै आएका कारण योजनाबद्ध रूपमा हत्या गरिएको बयानमा पाइएको प्रमुख थेबेले बताउनुभयो ।

हत्या गर्नका लागि छ लाख ५० हजार रुपैयाँ लिएको समेत अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक थेबेले बताउनुभयो । पक्राउ परेकाले घटनामा संलग्नता रहेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका विरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a review

This will close in 0 seconds