वीरगञ्ज : जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न एक जनालाई पक्राउ गरको छ ।
प्रहरीले वीरगन्जबाट जिल्ला धादिङ गल्छी गाउँपालिका वडा नम्बर २ का रोजन भुजेल बुधबार पक्राउ गरेको हो । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले उनलाई वीरगन्ज महानगरपालिका १६ शंकराचार्य गेटस्थित सडकखण्डबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेपालबाट भारततर्फ जान लागेका दुईजना युवतीहरुलाई रोकेर सोधपुछ गरेको आफन्त नेपालका कर्मचारीसमेतको उपस्थितिमा सोधपुछ गर्दा युवतीलाई भारत लैजाँदै गरेका भुजेलप्रति शंका लागेपछि उनिहरुलाई नियन्त्रणमा लिईएको पर्सा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक किहोर लम्सालका अनुसार प्रारम्भिक अनुसन्धान अनुसार युवतीलाई हेटौडा तथा वीरगन्ज नजिकैको कपडा कारखानामा राम्रो तलबसहित काम लगाइदिने प्रलोभन देखाएर सीमा पार लैजाँदै गरेको खुल्न आएको छ ।
पर्सा प्रहरीले पक्राउ परेका भुजेललाई पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप गराई उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको जनाएको छ ।


