नसर्ने रोग न्युनिकरणको लागि स्क्रिनिङ स्वास्थ्य शिविर

रञ्जन यादव
379 पाठक संख्या

पछिल्लो समय मानिसहरुमा विभिन्न नसर्ने रोग समुदाय स्तरमा बढ्दै गएपछि यसको न्युनिकरणका लागी जीतपुरसिमरा उपमहानगरपालिकाले स्क्रिनिङ स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

उपमहानगरपालिकाको वडा नम्बर २० मा भएको नसर्ने रोग सम्बन्धीको स्क्रिनिङ स्वास्थ्य शिविरमा मधुमेह,उच्च रक्तचाप र मिर्गौला सम्बन्धी रोगको शङ्का लागेका १ सय ७८ जनाले सेवा लिएका छन् ।

स्क्रिनिङ शिविर नयाँ बिरामी पत्ता लगाउने अभियान भएकाले निदान भइसकेका,औषधि खाइरहेका र पुराना बिरामीको शिविरमा स्वास्थ्य चेकजाँच गरिएको थिएन ।

मधुमेह,उच्चरक्तचाप र मिर्गौला रोगको शङ्का लागेका २५ वर्षमाथिका बिरामीले मात्रै शिविरमा लाभ लिएको जनस्वास्थ्य प्रबद्र्धन शाखाका राकेश चौधरीले जानकारी दिए । स्वास्थ्य शाखा र सम्बन्धित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीद्वारा शिविरमा आउनुभएका स्थानीय नागरिकहरूको स्वास्थ्य जाँच गरिएको जनस्वास्थ्य प्रबद्र्धन शाखाले जनाएको छ ।

अस्वस्थ जीवनशैली र खानपान मुख्य कारक मानिने नसर्ने रोगबाट पीडितहरूको बढ्दो संख्या हेर्दा बर्सेनि अवस्था भयावह बन्दै गएको देखिन्छ । क्यान्सर,उच्च रक्तचाप,मुटु रोग,मधुमेह लगायतका रोगहरूको कारण नेपालमा बर्सेनि ७१ प्रतिशत मानिसको मृत्यु हुने गरेको चिकित्सकहरु बताउछन ।

सुर्तीजन्य पदार्थ,मादक पदार्थ तथा लागु औषधको सेवन,अस्वस्थ खानपान मुटु रोग,मधुमेह,उच्च रक्तचापको मुख्य कारण रहेका छन् । नसर्ने रोगको कारण पछिल्लो समय युवाहरू बढी जोखिम देखिएको अध्ययनले देखाएको छ ।

नेपालीको औसत आयु ७२ वर्ष मानिन्छ । नेपालमा कुल वार्षिक मृत्युदरको २२ प्रतिशत मृत्यु अल्पायुमा मृत्यु हुने गरेको चिकित्सकहरु बताउँछन् ।

सरकारले अल्पायुमा हुने २२ प्रतिशत मृत्युलाई सन् २०३० सम्म ४ देखि ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । नेपालका ४७ लाख नागरिक उच्च रक्तचापबाट प्रभावित भएको जसमा ४ लाखले औषधी सेवन गरेको र २ लाखको मात्रै उच्च रक्तचाप नियन्त्रणमा रहेको सरकारी एक अध्ययनले देखाएको छ ।

Leave a review