कलैया : प्रहरी चौकी पथलैया बाराबाट खटेको प्रहरी टोलीले लागु औषध चरेस तथा नगद सहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी जनाएका हुन्।
प्रहरी नायब निरीक्षक बब्बी बम्जनको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा, जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकबाट उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१६ हाल जिल्ला बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.६ सिदरीया टोल बस्ने ५६ वर्षीय बच्चुकुमार बुढाथोकी रहेका छन्। नारायणघाटबाट आउदै गरेको ना ५ ख ८१०१ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्दा सह–चालक साईडको सिटमा कालो झोला साथमा लिई बस्दै गरेको अवस्थामा उक्त झोला शंकास्पद लागी खोली हेर्दा लागू औषध चरेस र रकम वरामद गरिएको हो।
उनको साथबाट एक किलो नौ सय ३३ ग्राम लागू औषध चरेस तथा नेपाली रू.६० हजार पाँच सय भारतीय रू. ३९ हजार दुई सय १७ गरी जम्मा नेपाली रू एक लाख २३ हजार दुई सय ४७ रुपैयाँ बरामद गरेको हो। उनी उपर आवश्यक कानुनी कारवाही शुरु गरिएको छ।

