सिम्रौनगढका नापी र मालपोत कार्यालयमा प्रशासनको छड्के अनुगमन : कार्यालय प्रमुख महतो अनुपस्थित

संदिप प्रसाद यादव
729 पाठक संख्या

कलैया । बाराको सिम्रौनगढस्थित नापी र मालपोत कार्यालयमा देखिएको प्रशासनिक लापरवाही र सेवाप्रवाहमा गुनासो बढेपछि प्रशासनले छड्के अनुगमन गरेको छ।

जिल्ला प्रशासन कार्यालय बारा प्रशासन शाखाका नायब सुब्बा रत्न बहादुर स्याङतानको नेतृत्वमा खटिएको अनुगमन टोलीले सोमबार उक्त दुबै कार्यालयमा छड्के अनुगमन गरेको हो। अनुगमनमा एकपछि अर्को कमजोरी भेटिएको हो।

सो अनुगमनको क्रममा नापी कार्यालय सिम्रौनगढका कार्यालय प्रमुख तथा नापी अधिकृत रामकैलाश महतो जेठ १८ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको पाइएको प्रशासन शाखाका नायब सुब्बा स्याङतानले जानकारी दिएका छन् । कार्यालय प्रमुख महतोको अनुपस्थितिका कारण कार्यालयको नियमित काममा ढिलासुस्ती भएको भन्दै सेवाग्राहीहरू गुनासो गरेको उनले बताए ।

साथै मालपोत कार्यालय सिम्रौनगढमा पनि गम्भीर लापरवाही देखिएको छ। सो अनुगमनका क्रममा केही कर्मचारीहरू नेपाल सरकारद्वारा तोकिएको पोशाक ड्रेस नलगाएको,बिना स्वीकृति नगरी बिदामा बसेको र लेखापढी व्यवसायीहरू कार्यालयभित्र सिधै प्रवेश गरी काम गरिरहेको र कार्यालयद्वारा प्रदान गरिदै आएको सेवा प्रति व्यापक गुनासो रहेको पाइएको छ ।

उक्त अनुगमन तथा छड्केमा प्रशासन कार्यालयका लेखापाल दल बहादुर शाहीको समेत सहभागिता रहेको थियो।

Leave a review

This will close in 0 seconds