बारा : पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र सिमावर्ती अमलेखगन्ज क्षेत्रमा पछिल्ला दिनमा बाघको गतिविधि बढेसँगै स्थानीयवासी त्रसित बनेपछि बाघको निगरानी बढाईएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ मा बाघको आक्रमणबाट असार ४ गते एक जना स्थानीय ब्यक्ति चन्द्र बहादुर भ्लोनको मृत्यु भएपछि स्थिति थप गम्भीर बनेको छ ।
डिभिजन वन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाको अनुसार बाघको आक्रमणबाट मानव क्षति भएपछि पर्सा निकुञ्जको टोली, डिभिजन वन कार्यालय र सुरक्षाकर्मीहरूको संयुक्त प्रयासमा उक्त क्षेत्रमा निगरानी, नियन्त्रण र सतर्कता कार्यहरू तीव्र पारिएको छ ।घटनाको जानकारी प्राप्त भएलगत्तै डिभिजन वन कार्यालय बाराले प्रहरीसँगको समन्वयमा घटनास्थलको निरीक्षण गरेको थियो।
त्यसपछिका दिनमा निकुञ्जको बाघ नियन्त्रण टोलीले घटनास्थल आसपासको क्षेत्रमा नियमित गस्ती,निगरानी तथा अनुगमन थालेको छ । घटनास्थल र वरपरको क्षेत्रमा बाघको पुनः गतिविधि देखिएपछि स्थिति थप संवेदनशील बनेको छ। डिभिजन वन कार्यालय बारा र पर्सा राष्टिय« निकुञ्जको संयुक्त टोलीले पाँडो राखि डार्टिङ्ग विधिबाट बाघ नियन्त्रणको प्रयास गरिरहेको छ। बाघ फसाल्नका लागि पिँजडा पनि स्थापना गरिएको छ ।
यसका साथै, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कोषको टोलीले पनि असार ५ गतेदेखि सक्रिय रूपमा बाघ नियन्त्रण कार्यमा सहयोग गरिरहेको छ । त्यस्तै डिभिजन वन कार्यालय बाराले स्थानीय मध्यवर्ती उपभोक्ता समितिको सहकार्यमा मानव–बाघ द्वन्द्व न्यूनीकरण, सतर्कता, सुरक्षा सजगता तथा जोखिम न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
स्थानीयबासीलाई जंगल आसपास सतर्कता अपनाउन,राति जंगल नजान तथा पशुचौपायाको उचित सुरक्षा गर्नसमेत सुझाव दिइएको छ ।समस्याको दीर्घकालीन समाधानका लागि स्थानीयस्तरमा वन्यजन्तु नियन्त्रण/रेस्क्यु युनिट स्थापनाको पहल समेत गरिएको छ। यो कार्य जिल्ला प्रशासन कार्यालय बाराको समन्वयमा आवश्यक तयारी र छलफलमार्फत अघि बढाइएको छ ।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पर्सा राष्ट्रिय निकुञ्ज,डिभिजन वन कार्यालय बारा,स्थानीय समुदाय तथा सरोकारवाला निकायहरूबीचको सहकार्यले समस्या समाधानको बाटो खोल्ने अपेक्षा गरिएको पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृत सन्तोष कुमार भगतले बताए । तत्कालीन राहत,सुरक्षात्मक गस्ती र नियन्त्रण प्रयाससँगै दीर्घकालीन संरचनात्मक समाधानमा समेत पहल भइरहेको उनले बताए ।

