बाटो नै नभएको ठाउँमा झोलुङ्गे पुल बन्दा प्रयोग विहीन

साझेदारी दैनिक
506 पाठक संख्या

कलैया : कही नभएको जात्रा हाडिगाउँमा भन्ने उखान बारामा बनाइएको एउटा झोलुङ्गे पुलले चरितार्थ गरेको छ।

कही विकास नभएर जनता हैरान छन्। कही औचित्यहीन विकास भएर जनता हैरान छन्। जनताको काम हैरानी खेप्नु हो। संघिय झोलुंगे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत बाराको करैयामाई गाउँपालिका १ खमवा गाउँमा करिब २२ लाखको लागतमा पुल निर्माण गरिएको छ।

पसाहा खोला वारपार गर्न बनाईएको झोलुंगे पुल खोलाको बिचमा बनाईएको छ । पुलमा जानको लागि बाटो समेत नरहेको स्थानीय वासिन्दा बताउँछन्। लामो समयदेखी उक्त पुल बनेपनि बाटो नभएका कारण पुल उपयोग विहीन बनेको हो ।

गाउँपालिकाका प्राविधिकले पुल निर्माण गर्दा खोलाको धार परिवर्तन भएको बताउँछन्। पुल बनेपछि बजेटको अभावमा त्यतिकै छाडिएको बताउँछन्।

उता रौतहट जिल्लाको यमुनामाई गाउँपालिकाको वडानम्बर २ भेडियाहिमा पनि संघिय झोलुंगे पुल क्षेत्रगत कार्यक्रमबाट करिब ४० लाखको लागतमा कामदेहि खोलामा निर्माण भएको यो पुलको प्रयोग नै नरहेको बताइन्छ।

बाटोबिना नै खोलामा झोलुंगे पुल बनेपछि स्थानीयले विरोध जनाएका छन्। गाउँपालिका कार्यालयले सहयोग नगर्दा बाटो बन्न नसकेको यमुनामाई गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सिताराम यादव बताउँछन्। यसरी विकासको नाममा बजेट सकाउने हतारोले गर्दा यस्तो योजनाले प्रमुखता पाएको बताइन्छ।

Leave a review

This will close in 0 seconds