कलैया । बारामा कमजोर प्रहरी कार्यसम्पादनप्रति बढ्दो जनगुनासोलाई गम्भीरतापूर्वक लिँदै जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङ कडा निर्णयमा उत्रिएका छन्।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढअन्तर्गत पर्ने अस्थायी प्रहरी पोस्ट पथलवाघाटका इन्चार्ज प्रहरी सहायक निरीक्षक रवि कुमार यादवसहित ६ जनाको सम्पूर्ण टोलीलाई मंगलवार एकैसाथ परिवर्तन गरेका छन् ।
एसपी तामाङका अनुसार लामो समयदेखि एउटै स्थानमा कार्यरत रहँदासमेत अपेक्षित सुधार नआएको,साथै तस्करी,चोरी–पैठारी तथा अवैध समान ओसारपसारजस्ता गतिविधिमा नियन्त्रण नहुनु र जनस्तरबाट आएका गुनासोलाई आधार बनाउँदै उक्त निर्णय लिइएको हो।
“पथलवाघाटमा देखिएको कमजोरीलाई हल्का रूपमा लिने अवस्था छैन। जिम्मेवारबोध नभएका टोलीलाई हटाएर नयाँ टोली खटाइएको छ,” एसपी तामाङले भने।
उनका अनुसार नयाँ प्रहरी टोली आजै उक्त पोस्टमा खटाइएको छ। साथै सीमानाका क्षेत्र हुने आपराधिक गतिविधिहरूलाई नियन्त्रणमा ल्याउन जिल्लाका अन्य सिनियर प्रहरी अधिकृत र निरीक्षकहरूलाई बोडर क्षेत्रमा विशेष निगरानी तथा नियमित चेकजाँचका लागि परिचालन गरिएको एसपी तामाङ जानकारी दिए ।
सिनियर प्रहरी अधिकृतको कमाण्डमा मोबाइल गस्ती सिमानाका क्षेत्रमा थप परिचालन गरि भन्सार चोरी नियन्त्रण तथा अपराधीक गतिविधिमा निगरानी बढाइएको एसपी तामाङले भने ।

