उपचारका क्रममा कैदीको मृत्यु,आफन्तजनद्वारा प्रदर्शन

साझेदारी दैनिक
315 पाठक संख्या

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मङ्गलवार वीरगञ्ज महानगरपालिका–२५ खल्वा टोलाका राहुल साह तुराहाको मृत्यु भएको छ।

कर्तव्य ज्यान मुद्दामा २०७९ साल देखि अदालतको आदेश अनुसार वीरगञ्ज कारागारमा जन्मकैद सजाय काटिरहेका थिए ।
मृतकका आफन्तले अस्पताल र कारागार प्रशासनमाथि लापरबाहीको आरोप लगाएका छन्। उनीहरुले अस्पताल बाहिर प्रदर्शन गरेका छन् ।

कारागारमा व्यायाम गर्ने क्रममा राहुलको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि तत्काल नारायणी अस्पताल ल्याइएको थियो । अस्पतालले प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल रेफर गरेको कारागार प्रशासनले जनाएको छ।

रेफर प्रक्रियामा ढिलाइ भएको र कारागार प्रशासनले समयमै अन्य अस्पताल लैजान अनुमति नदिएको कारण मृत्यु भएको आफन्तजनले आरोप लगाउँदै प्रदर्शन गरेको छ।

राहुललाई अन्य अस्पताल लैजाने प्रक्रिया पूरा गर्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जनाए। मृतकका आफन्तले अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेका छन्।

केही समय तनावको स्थिति सिर्जना भएको र हाल अवस्था सामान्य बनेको छ। मृतकका आफन्तलाई छलफलका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको लम्सालले जनाए। मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमै राखिएको छ ।

नारायणी अस्पतालले राहुललाई अन्यत्र लैजान सुझाव दिएको थियो। लामो समयसम्म जेल प्रशासनले आनाकानी गरेको आफन्तजनले जनाए।

एम्बुलेन्समा राख्ने क्रममा प्रहरीले रोकेको कारण उपचारमा ढिलाइ भएको आरोप आफन्तजनले जनाए। घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग आफन्तजनले जनाए।

नारायणी अस्पताल प्रशासनले भने राहुललाई सम्भव भ्याए सम्मको उपचार प्रदान गरिएको जनाएको छ। तत्कालै थप उपचारका लागि रेफर गरिएको दाबी गरेको छ। घटनापछि अस्पताल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा मृतकका आफन्त र प्रशासनबिच छलफल भइरहेको जनाइएको छ।

Leave a review

This will close in 0 seconds