कलैया । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ११ र १२ स्थित सितलपुर–बिसम्भरपुरस्थित श्री मुआमाई मन्दिरमा शनिबारदेखि दुई दिने मेला सुरु भएको छ ।
उक्त मेलाको उद्घाटन एक कार्यक्रमकाबीच कलैया उपमहानगरपालिकाका पूर्व मेयर तथा नेपाली काँग्रेस बाराका अध्यक्ष राजेश राय यादवले गरेका हुन । उक्त अवसरमा बोल्दै अध्यक्ष यादवले “शक्ति स्वरूपा मुआमाई हाम्रो आस्थाको केन्द्र रहेको बताए ।
जहाँ आस्था बलियो हुन्छ, त्यहाँ समाजमा शान्ति र समृद्धि स्वतः आउँछ उनले भने । संस्कार र धर्मले नै चरित्र निर्माण हुने उनको भनाई रहेको थियो । मेला–पर्वहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने उनले विश्वास व्यक्त गरे ।
उक्त अवसरमा बोल्दै मेला समिति अध्यक्ष राधा यादवले स्थानीय संस्कृति र परम्पराको संरक्षण गर्नका लागि मेलाको आयोजना गरिएको बताए । उक्त अवसरमा कलैया उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष अजय कुशवाहा, वडा नम्बर १२ का वडा अध्यक्ष लालबाबु मण्डलले धर्म संस्कृतीको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
मेलाको उदघाटन समारोहमा मकसुद असारी, रुपेश यादव, हुलासी यादव, नितेश कुशवाहा, साथै नेपाली कांग्रेसका जिल्ला सदस्यहरू रवि साह, प्रेमचन्द्र कुशवाहा, वासुदेव महतो, महेन्द्र महतो लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन मुकेश चन्द कुशवाहाको रहेको थियो ।

