देवाही गोनाही नगरपालिकाको ११ औं नगर सभामा ५३ करोडभन्दा बढीको बजेट प्रस्तुत

Om Prakash Yadav
278 पाठक संख्या

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाको ११औं नगर सभा तथा १० औं बजेट अधिवेशनमा आइतबार ५३ करोड रुपैयाँ भन्दा बढीको बजेट प्रस्तुत गरिएको छ।

राजनीतिक खिचातानी, प्रशासकीय अधिकृत पद रिक्त रहनु, तथा अन्य प्रशासनिक कारणले निर्धारित समयमै नगर सभा यस नगरपालिकाको हुन सकेको थिएन। झण्डै चार महिना ढिला गरी आज अधिवेशन सम्पन्न गरेको छ।

नगर प्रमुख प्रेमलाल साहको अध्यक्षतामा नगर सभा भएको हो। नगर सभाले चालू आर्थिक वर्ष २०८२/०८३ का लागि ५३ करोड १६ लाख ३२ हजार ६७६ रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

अधिवेशनमा वडा अध्यक्ष राम प्रवेश पटेलले चालू आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, सडक विस्तार तथा सामाजिक क्षेत्रमा विशेष प्राथमिकता दिइएको छ।

देवाही गोनाहीमा उत्पन्न राजनीतिक तथा प्रशासनिक जटिलताका कारण यो प्रक्रिया समयमै हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफाले जानकारी दिएका छन्।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक स्थानीय तहले असार १० गतेभित्र वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरी असार मसान्तभित्र नगर सभाबाट पारित गर्नुपर्ने व्यवस्था छ।

नगर सभामा नगर उप प्रमुख परनिया देवी पटेल, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरू, सबै वडा अध्यक्ष, जनप्रतिनिधि, स्थानीय पत्रकार तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds