करैयामाई गाउँपालिकामा स्यानिटरी प्याड खरिदमा व्यापक अनियमितता

साझेदारी दैनिक
243 पाठक संख्या

कलैया । बाराको करैयामाई गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ का लागि स्यानिटरी प्याड खरिद प्रक्रियामा व्यापक अनियमितता र भष्ट्राचार भएको लेखा परीक्षणले खुलासा गरेको छ।

लेखापरीक्षण प्रतिवेदनका अनुसार गाउँपालिकाले आरभी एण्ड विष्णु सप्लायर्स प्रा.लि. बाट ५,१६० थान स्यानिटरी प्याड रु. ३ लाख ९६ हजार ४ सय ९४ रुपैयाँ कर सहितमा खरिद गरी ११ विद्यालयलाई वितरण गरेको दाबी गरेको छ। त्यसपछि २०८१/०३/२३ मार्फत पुनः १०,७०० थान प्याड रु. ८ लाख २२ हजार १ सय ८८ करसहित खरिद गरी त्रिवेणी ट्रेड लिंकलाई रकम भुक्तानी दिएको छ।

वितरण नगरी मौज्दातमै राखिएको स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि, २०७६ को बुदा नम्बर ४ मा पालिकाले खरिद गरेको स्यानिटरी प्याड गुणस्तरमा कमी नआउने गरि भण्डारण गर्नुपर्ने साथै बुदा नम्बर ५ मा प्याड चौमासिक वा अर्धवार्षिक रूपमा विद्यालयमा वितरण गर्नुपर्ने व्यवस्था छ।

तर गाउँपालिकाले वर्षान्ततिर प्याड खरिद गरेर लेखापरीक्षणको मितिसम्म पनि विद्यालयमा वितरण नगरी मौज्दातमै राखेको पाइएकाे छ। तर, भण्डारण गर्दा पनि प्याडहरू सुरक्षित तथा गुणस्तरनुसार राखिएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ।

लेखापरीक्षण प्रतिवेदनले गाउँपालिकाले खरिद गरिएका प्याडहरू विद्यालयमा वितरण गरेको प्रमाण (भर्पाई) समेत पेश गर्न नसकेको उल्लेख गरेको छ। यसरी ८ लाख २२ हजार १ सय ८८ रुपैयाँ बराबरको वितरण प्रमाण पेश नगरेको भनी प्रतिवेदनले टिप्पणी गरेको छ।

उक्त खरिद तथा वितरण प्रक्रियामा गाउँपालिकाका निमित्त कार्यालय प्रमुख विरेन्द्र महतो रहेका थिए। यता यस विषयमा विरेन्द्र महतोसंग बुझन खोज्दा उनि सम्पर्क आउन चाहेनन् ।

Leave a review

This will close in 0 seconds