Sajhedari Daily
Latest News from Nepal

संसद बिघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन – नेता पोखरेल

नेकपा स्थायी कमिटी सदस्य तथा पुर्व शिक्षामन्त्री गिरीराजमणि पोखरेलले प्रधानमन्त्री ओलीका कारण देश संकटको भुमरीमा फसेको बताएका छन ।

दाहाल–नेपाल समुह निकट नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाराको आयोजना बाराको कलैयामा अगुवा कार्यकर्ता भेलालाई आईतवार सम्बोधन गर्दै नेता पोखरेलले यस्तो वताएका हुन ।

उहाँले जनताले दिएको दुईतिहाइ मतको प्रधानमन्त्री ओलीले अपमान गरेको भन्दै संसद बिघटन गर्ने ओलीको कदम असंवैधानिक भएकोले त्यसको बिरुद्धमा लाग्न कार्यकर्ता लाई निर्देशन दिएका छन । नेपालको संबिधानलाई देखाउदै पुर्वमन्त्री पोखरेलले भन्नुभयो “ संबिधानले प्रधानमन्त्रीलाई संसद बिघटन गर्ने अधिकार दिएको छैन “ उहाँहरुले टेक्नु भएको संबिधानको धाराबाट संसद बिघटन हुनै सक्दैन ।

नेता पोखरेलले प्रधानमन्त्री ओली निरंकुशतातर्फ अगाडी बढेकोले त्यसलाई रोक्न सडक संघर्षमा जानु परेको स्पष्ट पार्नुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै नेकपाका नेता पूर्वमन्त्री पुरुषोत्तम पौडेलले पार्टीको निर्णय मान्दिन भन्ने अधिकार कसैलाई नभएको उल्लेख गर्दै जनताले दिएको झण्डै दूई तिहाईको मत केपि ओलीको नभएर एमाले र एमाओवादी केन्द्रका लागि दिएको स्पष्ट पार्नुभयो ।

उहाँले निरंकुश बन्ने अधिकार नेकपाका कुनैपनि नेता तथा कार्यकर्तालाई बिधानले नदिएको उल्लेख गरेका छन । निरंकुशता बिरुद्ध लाग्न कार्यकर्तालाई नेता पौडेलले आग्रह गरे ।

नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठको सभापतित्व र मनोज पौडेलको सहजिकरणमा सम्पन्न कार्यक्रममा नेकपा केन्द्रीय तथा बारा सहइन्चार्ज गोपाल ठाकुर, केन्द्रीय सदस्य दिनेश राई, संबिधान सभाका सदस्य शिवचन्द्र कुशवाह,पुर्व जिबिस सभापति छठु प्रसाद यादव, संबिधान सभाका सदस्य विभा कार्की लगायतले असंवैधानिक कदमका बिरुद्धमा एकजुट हुन आग्रह गरेका छन ।