सहकारीबाट बर्षौदेखी दुधको भुक्तानी नपाएको भन्दै किसाने घेरे संकलन केन्द्र

साझेदारी दैनिक
543 पाठक संख्या

कोल्हवी । बाराको कोल्हबी नगरपालिका–८ नयाँबस्तीमा रहको सुर्यज्योती दुग्ध उत्पादक सहकारी संस्थाका किसानहरुले दुधको रकम भुक्तानी नपाएको भन्दै संस्थाको संकलन केन्द्रमा आज आईतवार घेराउ गरेका छन ।

सहकारीले करिब तीन चार वर्षदेखि किसानहरुलाई दुधको बक्यौता रकम भुक्तानी नदिपछि किसाहरु आक्रोसित हुदै आन्दोलित बनेका हुन ।

लामो समयदेखि भुक्तानी नपाई आएका किसानहरूले आज संस्थाको कार्यालयमा धर्ने, घेराउ गर्ने र शान्तिपूर्ण दबाब कार्यक्रम सञ्चालन गरेको किसान नारायण पौडेलले बताए ।

उक्त दुग्ध सहकारीले झण्डै एक हजार किसानहरुको करिब रु. ८० लाख बराबरको दूधको रकम भुक्तानी दिन बाँकी रहेको स्थानीय किसान उद्धव सापकोटाले बताएका छन । उनले आफ्नो मात्रै झण्डै दुई लाख भन्दाबढि दुधको रकम सहकारीले नदिएको गुनासो गरे ।

सहकारी सञ्चालकले दूध संकलन गरी बिक्री भने गर्दै आए पनि तोकिएको रकम नियमित रुपमा किसानहरूलाई नदिएपछि ठुलो रकम भुक्तानी गर्न बाँकी रहेको अर्का किसान रामचन्द्र सुवेदीले बताए ।

किसानहरूले बारम्बार माग गर्दा पनि सहकारीको व्यवस्थापन र संचालकहरुबाट स्पष्ट जवाफ नआउने, लेखा परीक्षण दस्तावेज र भुक्तानी समयसीमा माग गर्दा उपलब्ध नगराइएको किसानहरुको गुनासो छ ।

आन्दोलनमा सहभागी किसानहरूले भने, “हामीले आन्दोलन गर्न चाहेका होइनौँ, बाध्य भएर भुक्तानी माग्न आएका हौँ। घरपालुवा गाई–भैंसीको दाना, औषधोपचार, गोठ व्यवस्थापन सबै खर्च दूधकै आम्दानीबाट चल्छ। तर सहकारीले तीन चारबर्षदेखी रकम रोकिँदा धेरै किसान घरपरिवार ऋणको चपेटामा फसेको पिडा सुनाए ।

किसानहरुको आन्दोलनपछि सहकारी संस्थाका व्यवस्थापक श्रीराम चौधरीले आन्तरिक लेखा प्रक्रिया पूरा नभएको र संचालक समितिसंग सहकार्यमा छिट्टै समाधानको मार्ग निकालिने आवश्वासन दिएका छन ।

यता दुग्ध किसानहरूले आफुहरुलाई पटक पटक आश्वासन दिएकालले ठोस लिखित समयसीमा नदिएसम्म आन्दोलन जारी रहने र कानुनी उपचारमा जाने चेतावनी दिएका छन्।

यसैविषयमा सहकारी संस्थाका अध्यक्ष खेमनारायण सुवेदीसंग प्रतिकृया लिने प्रयास गर्दा उनको मोबाईमा सम्र्पक हुन सकेन । अन्य संचालकहरुले समेत लामो समयदेखी किसानको भुक्तानी रोकिनुको कारण माग्दा अनविज्ञता प्रकट गरेका छन ।

Leave a review

This will close in 0 seconds