Sajhedari Daily
Latest News from Nepal

पर्साको ठोरी भएर चितवनतर्फ लगिरहेको ३१ लाखको औषधी सहित ८ जना पक्राउ

राम मण्डल/
पर्साको ठोरी भएर चितवनतर्फ लैजादै गरेको ३१ लाखको औषधी सहित तस्करी गर्ने ८ जनाको गिरोहलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ ।

प्रहरीले पर्साको ठोरीबाट चितवनको माडीतर्फ जादै गरेको ना ४ ख ४४२५ नम्बरको गाडी माडी नगरपालिका वडा नम्बर ९ मा ईलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरी टोलिले रोकेर चेकजाँचगर्दा उक्त परिमाणको औषधि सहित तस्करी गर्ने गिरोहमा संलग्न ८ जनालाई पक्राउ गरेको हो ।

अनुसन्धान गर्ने क्रममा माडी ३ बस्ने बालकृष्ण महतो र मिलन महतोको घरबाट पनि गरि कुल ३१ लाख ५ हजार ६ सय ३३ रुपैयाको बिभिन्न किसिमका औषधीहरू प्रहरीले बरामद गरेको छ ।

औषधिसहित पक्राउ पर्नेहरुमा चितवन कालिका नगरपालिका ४ बस्ने बर्ष २८ को राजकुमार महतो, माडी नगरपालिका ३ बघौडा बस्ने बर्ष २२ को बालकृष्ण महतो, बर्ष २२ को मिलन महतो, कालिका नगरपालिका ३ बस्ने बर्ष ३१ को हरिशरण चौधरी, मकवानपुरगढी गाउँपालिका ८ बस्ने बर्ष २५ को सुरज गौतम,वडा नं.३ बस्ने बर्ष २३ को प्रकाश दाहाल, मकवानपुर हेटौडा उपमहानगरपालिका ५ बस्ने बर्ष २५ को उज्वल पोख्रेल र वडा नं.२३ बस्ने बर्ष २३ को बिपिन सापकोटा रहेका छन ।

बरामद गरिएको औषधिमध्ये टोटल एनटि ओक्सिडेनट, शिलाजित, डेलिपो क्यल्सियम, ओ मोरिङा, नेफ्रोफी, डेटो जाइनल गायतका औषधिहरु रहेको चितवन प्रहरीले जनाएको छ ।

उनीहरुले भारतबाट ती औषधिहरु ल्याई नेटवर्किङ ब्यवसाय मार्फत औषधिहरु बिक्री गर्ने गरेको चितवन प्रहरीले जानकारी दिएको छ । औषधी सहित पक्राउ परेकाहरुलाई हिरासतमा राखि थप अनुसन्धान भई रहेको तथा औषधी व्यवस्था बिभागसंग पनि समन्वय भईहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।