राष्ट्रिय लिग २०८२ मा निजगढको बलियो उपस्थिति

साझेदारी दैनिक
747 पाठक संख्या

निजगढ : नवराज चौलागाईं/ निजगढका १० जना फुटबल खेलाडीले राष्ट्रिय लिग फुटबल प्रतियोगिता २०८२ मा विभिन्न क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन्। फरक–फरक क्लबबाट मैदान उत्रिन लागेका यी खेलाडीहरूले निजगढको फुटबल पहिचानलाई राष्ट्रिय स्तरमा थप बलियो बनाउने अपेक्षा गरिएको छ।

राष्ट्रिय लिग खेल्ने निजगढका खेलाडीहरूमा समीर तामाङ, सृजनराज गौतम, समीर कुमार, विकास दर्लामी, रबिन बस्नेत, राहुल अर्याल, साजनराज गौतम, सुदीप लामा, बिक्रम थोकर र प्रविण धामी रहेका छन्। सातदोबाटो युवा क्लबबाट फरवार्ड समीर तामाङ र मिडफिल्डर राहुल अर्यालले लिग खेल्दै छन्। समीर नेपाली राष्ट्रिय टोलीका उदयमान खेलाडी हुन् भने राहुलले मोफसलका विभिन्न प्रतियोगितामा अनुभव बटुलेका छन्।

चर्च ब्वाइज युनाइटेडबाट राष्ट्रिय टोलीका सदस्य सृजनराज गौतम मैदान उत्रिँदै छन्। घरेलु फुटबलमा निरन्तर उत्कृष्ट प्रदर्शन गरेका उनले यसअघि नेपाल सुपर लिगसमेत खेलेका छन्।प्लानिङ ब्वाइज युनाइटेडबाट फरवार्ड समीर कुमार र गोलरक्षक रबिन बस्नेतले राष्ट्रिय लिग खेल्नेछन्। समीर एन्फा यु–१६ युथ लिग २०८२ का सर्वोत्कृष्ट खेलाडी हुन् भने रबिनले बागमती युवा क्लबलाई बी डिभिजनमा उकास्न महत्वपूर्ण भूमिका खेलेका थिए।

जावलाखेल युवा क्लबबाट फरवार्ड विकास दर्लामी सहभागी हुँदै छन्। उनले यसअघि बी डिभिजन लिग जित्दै आफ्नो टोलीलाई ए डिभिजनमा पु-याउन उल्लेखनीय योगदान दिएका थिए। न्यु रोड टिम (एनआरटी) बाट सुदीप लामा मैदान उत्रिनेछन्। विभिन्न घरेलु लिग खेलेका सुदीप अनुभवी खेलाडीका रूपमा चिनिन्छन्।

बाराको नवजनजागृति युवा क्लबबाट साजनराज गौतम, बिक्रम थोकर र प्रविण धामी राष्ट्रिय लिग खेल्दै छन्। साजन विङ्गरका रूपमा सक्रिय छन् भने बिक्रम र प्रविण मिडफिल्डमा जिम्मेवारी सम्हाल्ने छन्। यसैबीच निजगढका प्रशिक्षक राजकिशोर धामी नवजनजागृति युवा क्लबको सहायक प्रशिक्षकको रूपमा राष्ट्रिय लिगमा सहभागी हुने भएका छन्। उनले यसअघि वीरगञ्ज युनाइटेडमा पनि सहायक प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन्।

पछिल्ला केही वर्षयता निजगढमा पुरुष तथा महिला फुटबल खेलाडी उत्पादन उल्लेखनीय रूपमा बढ्दै गएको छ। स्थानीय क्लबहरूको नियमित प्रशिक्षण र संरचित अभ्यासका कारण खेलाडी उत्पादन सम्भव भएको निजगढ फुटबल क्लबका प्रशिक्षक सन्तोष गुरुङले बताएका छन्। राष्ट्रिय लिग खेल्ने खेलाडीमध्ये समीर तामाङ, रबिन बस्नेत, विकास दर्लामी र राहुल अर्याल निजगढ फुटबल क्लबका प्रारम्भिक उत्पादन हुन्।

Leave a review