कलैया । सशस्त्र प्रहरी बल, नेपाल नं १२ गण हेडक्वाटर बाराले २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा बालबालिकालाई आइतबार कपडा वितरण गरेको छ। बाराको पचरौता नगरपालिका वडा नम्बर १ हरपुरस्थित मुसहर बस्तीमा रहेका श्री दलित प्राथमिक बिद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ।
सशस्त्र प्रहरीले विपन्न परिवारलाई दृष्टिगत गर्दै हरपुरमा एक कार्यक्रमबीच बिधालयमा अध्ययनरत विपन्न वर्ग तथा समुदायका १२४ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेडक्वाटर बाराका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले सशस्त्र प्रहरीले न्यानो कपडा वितरण तथा खाना खुवाइएको जानकारी दिएका छन्। उक्त बिद्यालयको भवनलाई रङरोगन समेत गरिएको उनले जनाए।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह जैसवारले सशस्त्र प्रहरीले आफ्नो स्थापना दिवसको अवसरमा न्यानो कपडा वितरण गरेर सराहनीय कार्य गरेको बताए। उक्त बिद्यालयलाई सुरक्षित गर्नलाई अगाडिको पर्खाल निर्माण गरेको उनले बताए।
अगामी आर्थिक २०८३/०८४ वर्षमा उक्त बिद्यालयमा चार कोठे भवन निर्माण गर्ने उनले प्रतिबद्धता गरे। दलित बस्तीको सडक छिट्टै ढलान हुने हुने उनले जनाए। उक्त वडामा स्वास्थ,शिक्षा,सडक,कृषि लगायतमा ८ करोड रुपैयाँको काम भईरहेको उनले जानकारी दिए।
दलित प्राथमिक विद्यालय हरपुरका प्रधानाध्यापक बजरंगी माझीको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहार बल नम्बर १२ गण बाराका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसी,वडा नम्बर १ का वडा अध्यक्ष विनय कुमार सिंह,इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णदेव साह, बिद्यालयका शिक्षा,स्थानीय बासी,अभिभावक,सञ्चारकर्मीहरु लगायतको उपस्थिति थियो। सो कार्यक्रमको संचालन सशस्त्र प्रहरी नायब निरीक्षक विक्रम पौडेलले गरेका थिए ।
यसैगरी बारा जिल्लाको कलैया उपमहानगरपालिका –१६ स्थित श्री जोगिन्दर सामुदायिक आधारभुत बिधालयमा भलिवल, फुटवल, लगायतका खेलकुद सामाग्रीहरु बितरण गरिएको एसपी केसीले जानकारी दिए ।


