कलैया : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लामा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएसँगै उम्मेदवारहरू मतदाता भेट्न घर–घर पुग्न थालेका छन्। औपचारिक चुनावी प्रचार–प्रसार सुरु हुनुअघि नै जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार र तिनका समर्थकहरू टोल–टोल, गाउँ–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटेका हुन्।
राजनीतिक दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारहरूले पनि मतदातालाई रिझाउन घरदैलो कार्यक्रमलाई प्राथमिकता दिएका छन्। उम्मेदवारहरूले मतदाताको घरमा पुगेर अभिवादन गर्ने, स्थानीय समस्या सुन्ने तथा आफ्ना एजेन्डा संक्षेपमा राख्ने गतिविधि तीव्र बनाएका छन्। यसपटकको निर्वाचनमा प्रत्यक्ष संवादमार्फत मतदाताको विश्वास जित्ने प्रयास बढेको देखिन्छ।
घरदैलो भेटघाटमा सक्रिय हुने उम्मेदवारहरूमा बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार कृष्णकुमार (किसान) श्रेष्ठ, नेपाली कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ता, फरमुल्लाह मन्सुर तथा एमालेकी उम्मेदवार ज्वालाकुमारी साह रहेका छन्। उनीहरूले बिहीबारदेखि नै विभिन्न गाउँ–टोलमा भेटघाट कार्यक्रम सुरु गरेका छन्।
भेटघाटका क्रममा उम्मेदवारहरूले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, सिँचाइ, सडक तथा खानेपानीजस्ता दैनिकीसँग प्रत्यक्ष जोडिएका विषयलाई आफ्ना प्रमुख एजेन्डा बनाएका छन्। यद्यपि, अघिल्ला निर्वाचनझैं यसपटक पनि आश्वासन र प्रलोभनका कुरा दोहोरिन थालेको मतदाताको गुनासो छ।
बाराका मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि हाल दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता पालना गर्दै अनौपचारिक भेटघाट र जनसम्पर्क गतिविधि गरिरहेका छन्। निर्वाचनको समय नजिकिँदै जाँदा सम्भावित भिडभाडलाई ध्यानमा राख्दै सुरक्षा निकायले निगरानी बढाएको जनाएको छ।
मनोनयन दर्तापछि सुरु भएको घरदैलो अभियान र अन्य निर्वाचन गतिविधिले बारा जिल्लामा क्रमशः चुनावी माहोल थप तातेको स्थानीय मतदाताहरू बताउँछन्।

