क्यानडा पढ्न आएका भैरहवाका विद्यार्थीलाई एनआरएनएको पहलमा उद्धार

साझेदारी दैनिक
419 पाठक संख्या

एनआरएनए क्यानडाको पहलमा पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई उद्धार गरिएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नं.८, बुद्धपथ,भैरहवाका २३ बर्षिय साहिल श्रेष्ठलाई उद्धार गरि नेपाल पठाइएको एनआरएन क्यानडाले जनाएको छ । पढाईको अतिरिक्त सोचे जस्तो काम नपाए पछी श्रेष्ठ डिप्रेसनमा पर्दै गएका थिए ।

करिब एक बर्ष अगाडि सफ्टवेयर टेक्नोलोजी विषय पढ्न उनी क्याना पुगेका थिए । सेन्टेनियल कलेज,स्कारब्रो,टोरण्टो आएका श्रेष्ठ डिप्रेसनमा पर्दै गएका थिए ।

उनिसंगै कोठामा बस्ने साथी सागर मानन्धरले शुरूवातमा उनको व्यबहार राम्रो रहेको बताए । पछी उनी डिप्रेसनमा पर्दै गएको उनले बताए ।

उनले कोठा भाडासमेत तिर्न नसकेर समस्यामा परेका थिए । एनआरएनए क्यानडाका कार्यसमिति सदस्य कमल ज्ञवालीले आइतबार दिउँसो ४ बजे श्रेष्ठको उद्दार गरेका थिए ।

एनआरएनए क्यानडाका कार्य समिति सदस्य ज्ञवालीले नेपालमा श्रेष्ठको परिवारलाई सम्पर्क गरि नेपाल पठाएका थिए । कतार एयरवेज मार्फत उनी बुधबार बिहान काठमाडौं आइपुगेका हुन् । श्रेष्ठको उद्धार गर्नको लागि क्यानडामा रहेका अजय कार्कीको सहयोग थियो ।

क्यानडा प्रहरीले श्रेष्ठलाई बेवारिसे अवस्थामा भेटेर सिबिक हस्पिटल, ब्राम्पटन पुर्याएको जानकारी पाए लगत्तै ज्ञवालीले उनको उद्धार गरि नेपाल पठाउन सफल भएको बताए । एयरपोर्टबाट उनको परिवारजनले भेटेर जिम्मा लिएको ज्ञवालीले जानकारी दिए ।

क्यानडामा विद्यार्थीले काम पाउन मुस्किल – एनआरएनए क्यानाडामा अहिले नेपाली नयाँ विद्यार्थीहरुलाई काम पाउन धेरै मुश्किल रहेको छ । तपाई हामीले सोचेको भन्दा पनि काम पाउन धेरै गाह्रो रहेको एनआरएनए क्यानडाका सदस्य कमल ज्ञवाली बताउँछन् ।

नेपाल हुदा खाना सम्म नबनाएका विद्यार्थिहरु जब एउटा ठुलो सपना बोकेर नेपाल छोडी पुग्छन् उनीहरु समस्यामा हुन्छन् । एकातिर कोठा भाडा, खानाको समस्या, कामको समस्या रहेको हुन्छ ।

नेपालबाट करिव २५ लाख रुपैयाको ऋणको बोझ समेत रहन्छ । बाबु आमाले बिहानै बेलुकी सोध्ने प्रश्न “काम पाइस् कि नाई” भन्ने प्रश्न रहेको हुन्छ । अर्को तिर कलेजको फी तिर्नुपर्ने दिन नजिकिदै गर्दा क्यानडा आएका कतै तपाई हाम्रा छोरा छोरी भाई बहिनि भान्जा भान्जी मानसिक समस्यामा पर्ने गर्छन् ।

टाउको भरि येत्रो समस्या बोकेर हिड्दा मानसिक समस्या मा त छैनन् ? उनीहरु लाई खाना खायो कि खाएन,पढाईको कत्तिको प्रेसर छ भन्ने सोध्न ज्ञवालीको सुझाव छ । जागिर को तनाब नदिँउ, जागिर पाए पछि गर्छन उनले भने । एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालले विद्यार्थीहरुका लागी क्यानडामा काम पाउन मुस्किल हुँदै गएको बताउछन् ।

विद्यार्थी श्रेष्ठको समस्याबारे जानकारी हुनासाथ हामीले तत्कालै हाम्रा सदस्य कमल ज्ञवाली मार्फत उद्धारको पहल गरेको उनले बताए । क्यनडामा विद्यार्थीलाई हप्ताको २० घण्टामात्रै काम गर्न पाउने सरकारी नियम रहेको उनले बताए ।

काम दिने कम्पनी अथवा संस्थाले पनि विद्यार्थीलाई काम दिन असाध्यै गाह्रो मान्छन,पढाईको अतिरिक्त काम पाउन र गर्न पनि त्यतिकै गाह्रो छ अध्यक्ष दुलालले भने । पाँच महिना हिउँ पर्ने हुदा कामको समस्या रहन्छ । गर्मीयाममा केही काम पाउन सहज भएपनि क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीको चाप दिनदिनै बढेको छ ।

जस्को कारण अभिभावकले विद्यार्थीलाइ कामको र पैसा कमाउने प्रेसर नदिन उनको अनुरोध छ । पढाइ सकेपछि भने विद्यार्थीले पढेअनुसार काम पाउन सजिलो रहेको एनआरएनए क्यानडाका अध्यक्ष दुलालले बताए ।

हरेक शहर र राज्यमा रहेका एनआरएनएका कार्यसमिति तथा अग्रज साथीहरुलाई नेपाली विद्यार्थीहरुको समस्यामा साथ दिन र सक्दो पहलको लागि अनुरोध समेत गरिरहेको दुलालले बताए । बढ्दो विद्यार्थीको चापले काम पाउन कठिन भएको उनले बताए ।

Leave a review

This will close in 0 seconds