कोल्हवी : बाराको कोल्हवी नगरपालिका–४ सपहीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार विद्यालय प्राङ्गणमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद सिवाकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख रामप्रसाद चौधरीले यस बिधालयमा अध्यनरत विद्यार्थी भाइ बहिनीहरुलाई अनुशासनमा रहि शिक्षा हासिल गर्न र सामाजिक संजलाको दुरुपयोग नगरी यसको सही सदुपयोग गर्न निर्देशन दिनुहुँदै यस बिधालयमा कार्यरत शिक्षक शिक्षिकाहरुलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक बहन गर्नको लागि निर्देशन समेत दिनुभयो । आउदो एसइइको लागी सम्पूर्ण बिधार्थी र शिक्षकहरुलाई तयारीको साथ रहन बताउनुभयो ।
यस बिधालयले यस भेगमा कलेज पनि जन्माएको बताउनु हुँदै यस पालिकामा रहेको बिधालयको शिक्षाको गुणस्तर अझ माथी उकास्न सकारात्मक सोचका साथ सबैजना मिलि शिक्षालाई गुणस्तरीय बनाउन आ-आफ्नो स्थानबाट सकारात्मक भुमिका खेल्न सम्पुर्ण शिक्षा प्रेमी अभिभावकहरुलाई उहाँले आग्रह गर्नुभयो । यस पालिकाको शिक्षाको गुणस्तर पहिलेको भन्दा अहिले सुधार भएको बताउनु हुँदै अहिले डिजिटल युग भएको हुनाले किताबि ज्ञानबाट मात्र नपुग्ने भएकोले शिक्षकबाट गुरु बन्न सम्पुर्ण शिक्षक शिक्षिकाहरुलाई आग्रह गर्नुभयो । यस बिधालयले उत्पादन गरेको जनशक्ति अहिले देशको विभिन्न उच्च ओहोदामा पुग्न सफल हुनुभएका बिद्यार्थीहरुलाई बधाई सहित धन्यवाद दिनुभयो । यस बिधालयको शिक्षाको गुणस्तर तथा भौतिक पुर्वाधारलाइ अझ व्यस्थित बनाउन बिधालाय व्यस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरुलाई अहम् भिमिका खेल्नको उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पराजुलीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका शैक्षिक तथा अतिरिक्त क्रियाकलापबारे विस्तृत जानकारी गराउनुभएको थियो। सो अवसरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ का विभिन्न विधामा प्रथम हुने विद्यार्थीहरूलाई नगदसहित पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा कोल्हवी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष विष्णुप्रसाद मैनाली, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मिश्रिलाल साह, सपही कलेज व्यवस्थापन समितिका अध्यक्ष ढुन्डिराज उप्रेती, कलेज प्रिन्सिपल दिनेश अधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, सुरक्षा निकायका प्रमुख, समाजसेवी, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन कालिका भण्डारीले गर्नुभएको थियो। स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका सदस्य हरिनारायण चौधरीले राख्नुभएको थियो।

