विवाहेत्तर सम्बन्धका कारण भएको आमाछोराको हत्या प्रकरणमा पत्नी र प्रेमी पक्राउ

साझेदारी डेलि
844 पाठक संख्या

कलैया । बाराको परवानीपुर गाँउपालिका वडा नं.०१ रहरियाडिमा विवाहेत्तर सम्बन्ध तथा अनैतिक प्रेमको कारण दुई जनाको हत्या प्रकरणमा पक्राउ परेका दुई जनालाई अनुसन्धानको लागि बारा जिल्ला अदालतले बिहीबार पाँच दिनको म्याद थप गरेको छ।

पक्राउ परेका मृतककी पत्नी मनितादेवी मण्डल तथा मनिताकी प्रेमीका धर्मेन्द्र महतो धानुकलाई हिरासतमा राखि अनुसन्धान गर्न अदालतले प्रथम पटक म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

परवानीपुर गाउँपालिका–१, रहरीयाडीमा बुधबार बिहान करिब २ बजे दुई जनाको छुरा प्रहार गरी हत्या गरिएको थियो । घटनामा ४६ वर्षीया सुमित्रादेवी र उनका २८ वर्षीय छोरा
रामईश्वर मण्डलको मृत्यु भएको हो।

प्रारम्भिक अनुसन्धान अनुसार हत्या मनिता देवी मण्डलले गरेकी हुन्। उनले धर्मेन्द्र मण्डलको सहयोगमा आफ्नो श्रीमान् रामेश्वर र सासु सुमित्रादेवीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको खुलेको छ।

घटनामा ५२ वर्षीय ससुरा जगरुप महतो र २२ वर्षीया नन्द रिना कुमारी मण्डल घाइते भएका छन्। उनीहरूको उपचार परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा भइरहेको छ।

धर्मेन्द्र प्रसौनी गाउँपालिका–७, बन्जरियाका निवासी हुन्। उनी वैदेशिक रोजगारको सिलसिलामा दुबईमा कार्यरत थिए। गत माघ ११ गते काठमाडौँ आइपुगेपछि उनले मानितासँग मिलेर उक्त घटना घटाएको खुलेको हो। प्रहरीको प्रारम्भिक निष्कर्ष अनुसार घटनाको मुख्य योजनाकार मनिता देवी मण्डल रहेकी हुन्।

मनिता देवी मण्डललाई अस्पतालबाट उपचार पश्चात र धर्मेन्द्र महतो धानुकलाई बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नं. ०४ मुसहर्वाबाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।

Leave a review