निजगढ : बाराको निजगढ नगरपालिका वडा नम्बर ६ सडक टोलस्थित श्रीकृष्ण प्रणामी मन्दिर, प्रणामी नगरमा सञ्चालन गरिएको खुल्ला रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन्।
श्रीकृष्ण प्रणामी धर्म महामहोत्सवको अवसरमा रक्त सञ्चार केन्द्र हेटौडाको प्राविधिक सहयोगमा सोमबार आयोजना गरिएको रक्तदान शिविरमा स्थानीयवासीसहित विभिन्न क्षेत्रबाट आएका भक्तजनहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
रक्तदान कार्यक्रमको शुभारम्भ निजगढ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सूर्यबहादुर थापाले स्वयं रक्तदान गरेर गर्नुभएको थियो। शिविरमा विभिन्न सामाजिक व्यक्तित्व, युवा तथा स्वयंसेवकहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।
माघ २१ गतेदेखि सञ्चालनमा रहेको श्रीकृष्ण प्रणामी धर्म महामहोत्सवको अवसरमा रक्तदान, निशुल्क आँखा शिविर, दन्त शिविर,स्वास्थ्य परिक्षण जस्तै समाजोपयोगी गतिविधिहरू समेत निरन्तर रूपमा सञ्चालन भइरहेका छन्।

