अधुरा काम पूरा गर्ने अभियान लिएर मैदानमा उत्रिए जसपा उम्मेदवार यादव

साझेदारी डेलि
109 पाठक संख्या

कलैया : बारा क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेका पूर्व सांसद यादवले घरदैलो अभियानलाई तीव्र पार्दै विगतमा सुरु गरिएका विकास आयोजना पूरा गर्न आफू पुनः चुनावी मैदानमा उत्रिएको बताएका छन् ।

कलैया उपमहानगरपालिकाका विभिन्न वडामा मतदातासँग भेटघाट गर्दै उनले २०७४ सालको कार्यकालमा थालिएका केही महत्त्वपूर्ण योजना राजनीतिक परिवर्तनका कारण अधुरै रहेको उल्लेख उनले गरे। विशेषगरी रामराजा मोहन विक्रम साह बहुमुखी क्याम्पसको भवन निर्माणलाई उनले आफ्नो प्राथमिकतामा राखेका छन्। उनका अनुसार २०७६ सालमा ७ करोड रुपैयाँ लागतमा शिलान्यास गरिएको भवनमा सीमित बजेट खर्च भएपछि काम अलपत्र परेको छ।

यादवले शिक्षा क्षेत्रमा आफ्नो पहल निरन्तर रहेको दाबी गर्दै डुमरवानामा हात्तीसार बहुमुखी क्याम्पस सञ्चालनमा ल्याइएको र उत्तर झिटकैयामा विद्यालय भवन निर्माणका लागि २५ लाख रुपैयाँ बजेट सुनिश्चित गरिएको जानकारी दिए।

कृषि र स्वास्थ्यतर्फ पनि आफूले उल्लेखनीय काम गरेको उनको भनाइ छ। कलैया र जीतपुरसिमराका विभिन्न स्थानमा सिँचाइका लागि डिप बोरिङ जडान तथा फेटा गाउँपालिकालाई दुई वटा एम्बुलेन्स हस्तान्तरण गरिएको उनले उल्लेख गरे। पूर्वाधार विकासअन्तर्गत कलैया–रामपुरदेखि खम्वासम्म कालोपत्रे सडक निर्माण, खम्वामा पुल निर्माण तथा कलैया–८ खपरताँतामा निर्माणाधीन फन पार्कलाई उनले आफ्नो कार्यकालको उपलब्धि बताए।

२०७४ सालको निर्वाचनमा विजयी भएका तथा २०७९ मा झिनो मतान्तरले पराजित भएका यादवले अधुरा आयोजना पूरा गर्दै क्षेत्रलाई समृद्ध बनाउने प्रतिबद्धता जनाउँदै मतदातासँग पुनः समर्थन गर्न माग गरेका छन्।

Leave a review