बारा ३ मा रास्वपाका उम्मेदवार ईन्जिनियर अरविन्द साहको घरदैलो जारी

संदिप प्रसाद यादव
279 पाठक संख्या

कलैया : राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ई. अरविन्द साहले मतदातासंग भेटघाट गर्दै घरदैलोका साथ चुनावी अभियानलाई निरन्तरता दिएका छन्। जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १७ अन्तर्गत रामनगर शान्ति टोल, रघुनाथपुर र जामुना टोलमा पुगेर उम्मेदवार साहले स्थानीयसँग संवाद गरेका हुन्।

घरदैलोका क्रममा साहले दैनिक जीवनसँग जोडिएका समस्याको बारेमा जानकारी लिएका थिए। अधुरा विकास योजना र युवाको बढ्दो बेरोजगारीबारे उनले छलफल गरेकाहुन्। कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै समयमै मल र गुणस्तरीय बिउ उपलब्ध गराउने उनले बताए।

सिंचाई व्यवस्था विस्तार गर्ने र उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने गरी बजारीकरण सुधार गर्ने कुरामा उनले जोड दिए। शिक्षा र स्वास्थ्य सेवा प्रभावकारी र पहुँचयोग्य बनाउन संघीय तहबाट पहल गर्ने उनले मतदातालाई बताएका छन्। युवालाई सीपमूलक तालिम र उद्यमशीलतामार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना अघि सार्ने उनले जनाएका हुन्।

डिजिटल सूचना र प्रविधिको प्रयोगमार्फत नागरिकलाई सरकारी सेवा दिने उनले जनाए। कृषि सूचना र बजार मूल्यबारे सहज जानकारी उपलब्ध गराउने उनले बताए।सुशासन र पारदर्शिताका लागि प्रविधि महत्वपूर्ण माध्यम बन्न सक्ने उनले जनाए।

मतदातासँग आफ्नो पक्षमा भारी मतदान गर्न उनले आग्रह गरे। जनताका मुद्दालाई संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता दोहो-याएका छन्। स्थानीयवासीले पनि परिवर्तन र परिणाममुखी कामको अपेक्षा राख्दै सकारात्मक प्रतिक्रिया दिएको जनाइएको छ।

Leave a review

This will close in 0 seconds