कलैया । बाराको कलैया उपमहानगरपालिका -३ अवस्थित सिद्धेश्वरनाथ महादेव मन्दिरको बुधबार विद्यार्थीहरुले सरसफाई गरेका छन्।
कलैया उपमहानगरपालिका वडा नम्बर ६ अवस्थित ज्ञान सरोबर एकेडेमीको कक्षा ७,८ र ९ मा अध्ययनरत विद्यार्थीहरुले मन्दिर परिसरलाई सरसफाई गरेका छन्। अतिरिक्त क्रियाकलाप सप्ताहको छैटौं दिन विद्यार्थीहरुले मन्दिर परिसरको सरसफाई गरेका हुन्।
यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई सानै उमेर देखि समाज प्रति जिम्मेवार बनाई उनीहरुको चौतर्फी विकाशमा टेवा पुर्याउने उक्त विद्यालयका शिक्षक राजु साहले साझेदारी दैनिकलाइ बताए ।
उक्त कार्यक्रममा ज्ञान सरोवरका शिक्षिकाहरु अल्का पाण्डे, गिता भट्टराई, शिक्षकहरु विकाश शर्मा र सन्दिप केशरीको उपस्थिति रहेको थियो।
कार्यक्रम पश्चात् श्री सिदेश्वर संस्कृत माध्यमिक बिद्यालयका प्रधानाध्यापक ज्योतिषी छविरमण सुबेदीले विद्यालय तथा सरसफाई गरेका विद्यार्थिहरुलाई धन्यवाद दिए। उनले ज्ञान सरोबर एकेडमीले समाजमा एउटा नमुना उदाहरण प्रस्तुत गरेको बताए।
विद्यार्थीहरुलाई ज्ञान, विज्ञान, धर्म, संस्कृित, रिति, रिवाज तथा परम्परा नै मानिसको पहिचान भएको सुवेदीले बताए। आफ्नो धर्म, संस्कृति माथी गर्व गर्दै यस्को संरक्षण गर्नुपर्ने उनले सुझाव दिए।

