राजु महतो स्मृति मिनी म्याराथन २०८२ सम्पन्न

संदिप प्रसाद यादव
210 पाठक संख्या

जीतपुर : राष्ट्रिय विभूति एलुम्नाइ (एसईई ब्याच–२०७३) को आयोजनामा तथा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन को सहकार्यमा दोस्रो ‘राजु महतो स्मृति मिनी म्याराथन २०८२’ शनिबार सम्पन्न भएको छ।

५ किलोमिटर दूरीमा आयोजित उक्त प्रतियोगितामा छात्र–छात्रा गरी करिब एक सय धावकको उत्साहजनक सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक दौडमा छात्रतर्फ राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन, डुमरवानाका साहिल चौधरी प्रथम, दीपेश ठाकुर द्वितीय तथा सिद्धार्थ चौधरी तृतीय स्थान हासिल गर्न सफल भए।

त्यसैगरी छात्रातर्फ औसका चौधरी प्रथम, सन्जाना चौधरी द्वितीय र करुना चौधरी तृतीय स्थानमा रहे। दौड सम्पन्न भएपछि आयोजित पुरस्कार वितरण समारोहमा विजेताहरूलाई नगदसहित सम्मान गरिएको थियो। आयोजकका अनुसार प्रथम हुनेलाई पाँच हजार रुपैयाँ, द्वितीयलाई तीन हजार रुपैयाँ र तृतीय हुनेलाई दुई हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विदुर कुमार खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वर्गीय राजु महतोका अभिभावक रामावतार महतो र कमलीदेवी महतो विशेष अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिका का नगर उपप्रमुख भोला प्रसाद अधिकारीले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै युवापुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले स्थानीय तहले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। एलुम्नाइ समूहले स्वर्गीय राजु महतोको स्मृतिमा सुरु गरिएको उक्त मिनी म्याराथन आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ।

Leave a review