रञ्जन यादब /
गत बैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएका बाराका दुई जना पुरुषको सम्पर्कमा आएका ७८ जनामा संक्रमण नभएको पाईएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणका क्रममा उनिहरुको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताउनुभयो ।
पहिलो चरणमा गत बैशाख २० गते संक्रमितको परिवारका सदस्य लगायत दैनिक सम्पर्कमा रहने सात जनाको परिक्षण गरिएको थियो । बाँकी ७१ जनाको परिक्षण रिपोर्ट भने आज सार्वजनिक भएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो ।
कोरोना संक्रमित जीतपुरका ४३ वर्षिय पुरुष र सिम्रौनगढ घर भई ईनर्वासिरामा बस्दै आएका मदर्साका शिक्षक ‘मौलाना’ को सम्पर्कमा आएका ७९ जनाको पहिचान गरि स्वाब संकलन गरिएकोमा एक जनाको स्वाब संकलनमै त्रुटी भएकाले परिक्षण हुन नसकेको उहाँले बताउनुभयो ।
सम्पर्कमा आएकाहरुमध्ये परिवारका सदस्य सहित ६ जनालाई सिमरा स्थित कोरोना विशेष अस्थाई अस्पतालको आईसोलेसनमा र एक जनालाई विरगञ्जस्थित सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाईनमा राखिएको छ । बाँकी ७२ जना भने होम क्वारेन्टाईनमा बस्दै आएका छन् ।