आफ्नो प्रतिबद्धतासहित घरदैलोमा कांग्रेस उम्मेदवार यादव

साझेदारी डेलि
316 पाठक संख्या

कलैया । बारा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार भैयाराम यादवले कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य र युवा रोजगारीलाई प्राथमिक एजेन्डा बनाउँदै घरदैलो अभियानलाई थप सक्रिय बनाएका हुन।

उनले बिहीबार पचरौता नगरपालिकाका पिप्रपाती, चिकनी र बैरिया टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरे। बिहानैदेखि सुरु भएको अभियान साँझसम्म जारी रहँदा स्थानीय बासिन्दाले आफ्नो टोल–बस्तीका समस्या खुलेर राखेका थिए।

सो अवसरमा मतदाताहरुले कतै सिँचाइको अभाव, कतै खेतीयोग्य जमिनमा मल–बीउको समस्या, त कतै युवाहरू वैदेशिक रोजगारीका लागि बाध्य भएर बाहिरिनुपरेको विषय उठाइएको थिए।

उम्मेदवार यादवले किसानमुखी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्दै आधुनिक कृषि प्रणाली, साना सिँचाइ आयोजना विस्तार, कृषि उपजको उचित बजारीकरण तथा सहुलियत कर्जाको पहुँच बढाउने योजना सुनाए। “कृषि नै यस क्षेत्रको मुख्य आधार हो, त्यसलाई व्यावसायिक र आधुनिक बनाउनु मेरो पहिलो प्राथमिकता हुनेछ,” उनले बताए।

उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार, स्वास्थ्य संस्थाको स्तरोन्नति र बेरोजगार युवाका लागि सीपमूलक तालिम तथा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाए। उनले वैदेशिक पलायन रोक्न स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए।

घरदैलोका क्रममा उनले नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न आग्रह गर्दै आफूलाई जनताको सेवकका रूपमा काम गर्ने अवसर दिन अपिल गरे। बारा–२ मा विशेषगरी कृषि र रोजगारीको विषय यसपटकको चुनावी बहसको केन्द्रमा देखिएको छ।

Leave a review