जीतपुर : सिमरा–डुमरवाना स्कुल हबको आयोजनामा माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गर्दै सामाजिक तथा विज्ञान विषयसम्बन्धी एकदिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। डुमरवानामा आयोजित कार्यक्रममा उल्लेखनीय संख्यामा परीक्षार्थी विद्यार्थीहरूको सहभागिता रहेको थियो।
नजिकिँदै गरेको एसईई परीक्षालाई मध्यनजर गर्दै विद्यार्थीलाई विषयवस्तुको गहिरो अवधारणागत बुझाइ, प्रभावकारी अध्ययन विधि तथा उत्कृष्ट नतिजा हासिल गर्ने रणनीतिबारे मार्गदर्शन दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
प्रशिक्षणमा विज्ञान विषयका पुस्तकका लेखक पी.के. झा र सामाजिक विषयका लेखक नारायण प्रसाद खतिवडाले सहजीकरण गरेका थिए। उनीहरूले पाठ्यक्रमको संरचना, सम्भावित प्रश्नहरूको विश्लेषण, उत्तर लेखनको प्रभावकारी शैली, समय व्यवस्थापन तथा परीक्षाका क्रममा हुने सामान्य त्रुटिबारे व्यावहारिक जानकारी प्रदान गरेका थिए। सहभागी विद्यार्थीलाई नमुना प्रश्न अभ्यास गराउँदै उत्तर लेखन सीप अभिवृद्धिमा जोड दिइएको थियो।
कार्यक्रममा बोल्दै राजन पौडेलले प्रारम्भिक कक्षादेखि नै सही अध्ययन पद्धति अवलम्बन नगर्दा विज्ञान र सामाजिक विषयमा अपेक्षित उपलब्धि हासिल गर्न कठिनाइ हुने बताए। कक्षा १ देखि ३ सम्मको आधार कमजोर हुँदा माथिल्लो कक्षामा विषयवस्तु बुझ्न समस्या देखिने उनको भनाइ थियो। “घोकन्ते शैलीभन्दा बुझेर पढ्ने बानी विकास गर्न सके मात्रै परीक्षामा दीर्घकालीन सफलता सम्भव हुन्छ,” उनले जोड दिए। साथै, उनले सबै विद्यार्थीलाई आत्मविश्वासका साथ एसईईमा सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना व्यक्त गरे।
सिमरा–डुमरवाना स्कुल हबका संयोजक बसन्त ढकालले शैक्षिक सत्र २०८२ अन्तर्गत अतिरिक्त क्रियाकलापका रूपमा यस्ता क्षमता अभिवृद्धि कार्यक्रम निरन्तर सञ्चालन गरिँदै आएको जानकारी दिए। प्रशिक्षणबाट प्राप्त ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न विद्यार्थीलाई प्रेरित गर्दै उनले आगामी दिनमा पनि विषयगत तालिम, अभिमुखीकरण तथा शैक्षिक परामर्श कार्यक्रम सञ्चालन गरिने बताए।
कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले प्रशिक्षण उपयोगी, व्यावहारिक र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन्। आयोजकका अनुसार यस्ता कार्यक्रमले परीक्षाको तयारीमा सकारात्मक ऊर्जा थप्ने विश्वास लिइएको छ।

