खाना पकाउने ग्यासको कृत्रिम अभाव नगर्न व्यवसायीलाई उद्योग वाणिज्य संघको निर्देशन

साझेदारी डेलि
157 पाठक संख्या

कलैया : बारा उद्योग वाणिज्य संघ, कलैयाले बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न ग्यासका थोक तथा खुद्रा व्यवसायीलाई निर्देशन दिएको छ। पछिल्लो समय ग्यास आपूर्ति सम्बन्धी विभिन्न हल्ला फैलिन थालेपछि उपभोक्तामा देखिएको अन्योललाई मध्यनजर गर्दै संघले व्यवसायीहरूसँग छलफल गरी यस्तो आग्रह गरेको हो।

शनिबार कलैयामा आयोजित ग्यास व्यवसायीहरूसँगको बैठकमा संघका पदाधिकारीहरूले बजार व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा उपभोक्ताको हित संरक्षण गर्न व्यवसायीहरूले जिम्मेवारीपूर्ण ढंगले व्यापार सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

बैठकमा संघले व्यवसायीहरूलाई नयाँ सिलिन्डर बिक्री नगर्न, सरकारले तोकेको मूल्यभन्दा बढी नलिन तथा बजारमा अनावश्यक अभाव देखिने गरी ग्यास लुकाउने वा आपूर्ति अवरुद्ध गर्ने कार्य नगर्न स्पष्ट निर्देशन दिएको जनाएको छ। हाल सरकारले निर्धारण गरेको मूल्यअनुसार उपभोक्तालाई ग्यास सिलिन्डर ९ सय ५५ रुपैयाँमै उपलब्ध गराउनुपर्नेमा पनि संघले व्यवसायीहरूलाई स्मरण गराएको छ।

त्यसैगरी फरक कम्पनीको ग्यास सिलिन्डर लिएर आउने उपभोक्तालाई समस्या नपार्न र सम्भव भएसम्म वैकल्पिक व्यवस्थामार्फत सेवा उपलब्ध गराउन पनि संघले आग्रह गरेको छ। संघका पदाधिकारीहरूका अनुसार बजारमा अनावश्यक हल्ला फैलाएर वा कृत्रिम अभाव सिर्जना गर्दा उपभोक्ता प्रत्यक्ष मारमा पर्ने भएकाले यस्तो कार्य नगर्न व्यवसायीहरूलाई सचेत गराइएको हो।

संघका पदाधिकारीहरूले ग्यासजस्तो दैनिक उपभोग्य वस्तुमा समस्या देखिँदा सर्वसाधारण नागरिक सबैभन्दा बढी प्रभावित हुने भएकाले व्यापारीहरूले सामाजिक जिम्मेवारीलाई पनि ध्यानमा राखेर काम गर्नुपर्ने बताएका छन्। बजारलाई सहज, व्यवस्थित र उपभोक्तामैत्री बनाउन व्यापारीहरूबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो।

बैठकमा बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, वाणिज्य उपाध्यक्ष प्रदीप कुमार साह, महासचिव रामअशिष साह, कोषाध्यक्ष अजय साह, उद्योग सचिव मनतोष चौधरी, सदस्य शशिभूषण गुप्ता, दिनेश प्रसाद लगायतका पदाधिकारी तथा विभिन्न ग्यास कम्पनीका थोक तथा खुद्रा व्यवसायीहरूको सहभागिता रहेको थियो।

संघले बजारमा ग्यास आपूर्ति नियमित र सहज बनाउन व्यवसायी, आपूर्तिकर्ता तथा सम्बन्धित निकायबीच समन्वय गर्दै जाने पनि जनाएको छ। साथै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सबै व्यवसायीलाई जिम्मेवारीपूर्वक काम गर्न संघले पुनः आग्रह गरेको छ।

Leave a review