कलैया । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कलैयामा प्रदर्शन गरिएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग गर्दै स्वतन्त्र युवा समूहले बुधबार बाराको सदरमुकाम कलैयाको भरत चोकमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा सहभागीहरूले “गौरीबहादुर कार्की आयोगको पूरा प्रतिवेदन खोइ सरकार?”, “बन्द कोठाको हस्तान्तरण होइन”, “सजाइएको संक्षिप्त होइन, पूरा प्रतिवेदन सार्वजनिक गर” जस्ता नारा लगाएका थिए।
आयोगले गत फागुन २४ गते आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई जाँचबुझ प्रतिवेदन बुझाइसकेको भए पनि अहिलेसम्म सार्वजनिक नगरिएको भन्दै प्रदर्शनकारीहरूले असन्तुष्टि जनाएका छन्। उक्त प्रदर्शनमा संजय केशरी, सौरभ चौगाईं, राजकुमार गुप्ता, मन्दिप दुबे लगायतका युवाहरूको सहभागिता रहेको थियो।

