सनराइज कोचिङ्गद्वारा एसईई दिने ३९ विद्यार्थीलाई भव्य बिदाइ

साझेदारी डेलि
147 पाठक संख्या

वीरगन्ज । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वास्थित सनराईज कोचिङ्ग एण्ड कम्प्युटर सेन्टरले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थीहरुको शनिबार एक कार्यक्रम बीच बिदाई गरेको छ ।

चैत १९ गतेदेखि सुरु हुने एसईईमा उक्त कोचिङ सेन्टरबाट १० औं ब्याचको रूपमा १९ जना छात्रा र २० जना छात्र गरी ३९ जना परीक्षार्थी सहभागी हुँदै छन्। २०७२ सालदेखि लागातार एसईई परीक्षामा उक्त कोचिङ्गबाट परीक्षामा सहभागी हुदै आएका छन् भने प्रत्येक वर्ष कोचिङ्गले उत्कृष्ट नतिजा ल्याउने गरेको कोचिङ्गका कोअर्डिनेटर तथा शिक्षक नरेश केशरीले जानकारी दिएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि श्रीचन्द्र माविका प्रधानाध्यापक तथा नेल्टा बाराका अध्यक्ष रमेश कुशवाहाले आफुहरुले सानैदेखि माया र निगरानी गरेर १० कक्षासम्म ल्याउने गरेको र १० कक्षामै बिदाई गर्नुपर्ने बाध्यात्मक र दुःखद क्षण भएपनि अगाडि बढ्नको लागि यसो गर्नुनै पर्ने बताएका छन् ।

परीक्षार्थीहरुलाई चुरियामाई पहाडमा जति पटक चढेपनि नाम नहुने समाचार नबन्ने र एकपटक सगरमाथा वा कन्चनजंघा हिमाल चढे आफैं संचारकर्मीहरु तथा विभिन्न व्यक्तिहरु घरमै पुग्ने भन्दै ‘ए प्लस ल्याउन सकिन्छ भन्ने दृढ विश्वास राख्नुपर्ने’ बताए ।

कोचिङ्गबाट अध्ययन गरेका विद्यार्थीहरु एमबीबीएसमा नाम निकालेको र यहाँबाट निस्केका विद्यार्थीहरू विभिन्न सरकारी निकायमा कार्यरत रहेको कोचिङ्गका फाउण्डर एवम् प्रिन्सिपल संतोष कुमार शाहले बताएका छन् । उक्त कोचिङ्ग अहिले कम्प्युटर कक्षा, बोर्डिङ स्कुल र नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको कक्षा पनि सञ्चालन गरिरहेको उनले बताए ।

बिदाई कार्यक्रमको अवसर साप्ताहिक, मासिक र वार्षिक परीक्षा तथा मल्टिपल चोईस परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार र एसईईमा सहभागी हुने सबै विद्यालयहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

उक्त बिदाई कार्यक्रममा बाल एकता विद्यालयका एमडी सुबोध सर्राफ, डा राजेश साह, समाजसेवी आबिद अंसारी, शिक्षकहरू सुनिल कुमार पण्डित, हरेन्द्र गुप्ता, रामबिनय यादव लगायतको सहभागिता रहेको थियो।

Leave a review