जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा मंगलबार मध्यराति विद्युत् सर्टका कारण आगलागी हुँदा कार्यालय प्रमुखको कार्यकक्ष पूर्णरूपमा नष्ट भएको छ।
राति करिब १२ बजे लागेको आगोले कार्यालयको दोस्रो तल्लामा रहेको प्रमुख डिल्लीराज लेखकको कार्यकक्षमा ठूलो क्षति पु¥याएको हो। प्रारम्भिक अनुसन्धानका आधारमा विद्युत् सर्ट नै आगलागीको मुख्य कारण रहेको प्रहरीले जनाएको छ।
आगलागीबाट कार्यकक्षभित्र रहेका ल्यापटप, एसी, फर्निचर लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। कार्यालय सुरक्षामा खटिएका सुरक्षाकर्मीले कोठाबाट धुवाँ निस्किएको देखेपछि तत्काल अन्य कर्मचारीलाई खबर गरेका थिए। त्यसपछि कर्मचारी र सुरक्षाकर्मीको संयुक्त प्रयासमा फायर एक्स्टिङ्गुइजर प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो।
कार्यालय प्रमुख डिल्लीराज लेखकले आगलागीबाट कार्यकक्षमा रहेका सबै सामग्रीमा क्षति पुगेको पुष्टि गर्दै विस्तृत क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ भने कुल क्षतिको मूल्याङ्कन प्रक्रिया पनि अगाडि बढाइएको छ।

