कोल्हवी : “उद्यमशीलता र पारदर्शिता, सहकारीको प्राथमिकता” भन्ने मूल नाराका साथ बारामा शुक्रबार ६९ औँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।
दिवसको अवसरमा जिल्लाका विभिन्न पालिकाहरूले सहकारी संस्थाहरूको सक्रिय सहभागितामा प्रभातफेरी, अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका थिए। जीतपुरसिमरा उपमहानगरपालिकाले डुमरवाना क्षेत्रमा प्रभातफेरीसहित विशेष कार्यक्रम आयोजना गरेको थियो।
त्यसैगरी कोल्हवी र निजगढ क्षेत्रमा पनि सहकारी दिवस उल्लासपूर्वक मनाइएको छ। आयोजित कार्यक्रमहरूमा जनप्रतिनिधि, सहकारीकर्मी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले सहकारी क्षेत्रको महत्व र यसको सामाजिक–आर्थिक योगदानबारे चर्चा गर्दै सहकारीमार्फत स्थानीय स्तरमा रोजगारी सिर्जना, आर्थिक सशक्तीकरण र विकासमा महत्वपूर्ण टेवा पुगेको बताएका थिए। साथै, सहकारी संस्थाहरूलाई अझ पारदर्शी, उत्तरदायी र व्यवस्थित बनाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए।

