जीतपुर : ६९ औँ राष्ट्रिय सहकारी दिवसको सन्दर्भ पारेर साना किसान कृषि सहकारी संस्था लि. सिमराले शुक्रवार वित्तीय साक्षरता केन्द्रित कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमले सहकारी सदस्य तथा स्थानीय कृषकहरूलाई वित्तीय व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरेको छ।
अध्यक्ष कमला अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहजकर्ताका रूपमा कुलोत्तम प्रसाद पोख्रेल रहेका थिए। प्रशिक्षण सत्रमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. हेटौंडाका प्रबन्धक भोला रिजाल र मुक्तिनाथ विकास बैंक, वीरगञ्ज शाखाका नसिब साहले सहजीकरण गरेका थिए।
उनीहरूले बचत गर्ने बानीको विकास, सही ढंगले लगानी गर्ने तरिका, ऋणको सदुपयोग तथा सहकारीमार्फत कृषिमा पूँजी परिचालनका उपायबारे सहभागीहरूलाई जानकारी दिएका थिए। कार्यक्रममा सहभागी कृषकहरूले दैनिक खर्च व्यवस्थापनदेखि आय वृद्धि गर्ने उपायसम्मका विषयमा उपयोगी सीप हासिल गरेका थिए।
अध्यक्ष अधिकारीले सहकारीमार्फत आर्थिक सशक्तीकरणलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताइन्। उनका अनुसार सदस्यहरूको जीवनस्तर उकास्न सचेतनामूलक तथा सीपमूलक कार्यक्रम अपरिहार्य छन्।
कार्यक्रममा स्वागत मन्तव्य लेखा संयोजक किशोर शर्माले राखेका थिए। आयोजकका अनुसार कार्यक्रमले वित्तीय सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

