कलैया । बाराको कलैयास्थित प्रादेशिक अस्पतालमा जेनजी एण्ड युथ अफ बाराका युवाको टोलीले छड्के अनुगमन तथा निरीक्षण गरेको छ।
पछिल्ला दिनहरूमा अस्पतालप्रति बढ्दै गएको गुनासोलाई मध्यनजर गर्दै जेनजी एण्ड युथ अफ बाराका संयोजक सौरभ पाण्डेको नेतृत्वमा टोलीले आज अनुगमन गरेको हो।
अनुगमनका क्रममा बिहान ९:२० सम्म कार्यालय समयमा केही कर्मचारीहरू हाजिरी नगरेको, केही कर्मचारी हाजिरी नै नगरी ड्युटीमा रहेको पाइएको संयोजक पाण्डेले जानकारी दिए।
त्यस्तै, ल्याबका कर्मचारीहरू समयमा अस्पतालमा नआएको, अस्पताल परिसरमा सरसफाइको कमी देखिएको, पर्याप्त पार्किङ व्यवस्था नभएको र अस्पताल गेट अगाडि गुम्टी पसलमा गुट्खा बिक्री भइरहेको जस्ता अवस्था पनि भेटिएको उनले बताए।
उनका अनुसार बिरामीलाई विभिन्न बहानामा रिफर गर्ने, शौचालयमा पानीको व्यवस्था नहुनु तथा ल्याब सेवा उपलब्ध हुँदाहुँदै पनि बाहिर परीक्षणका लागि पठाउने गरेको गुनासो पनि आएको छ।
जेनजी एण्ड युथ अफ बाराले तीन महिना अघि बुझाइएको १२ बुँदे ध्यानाकर्षण पत्र अझै कार्यान्वयन नभएको भन्दै प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जयन्त भगवान मिश्रसमक्ष गुनासो राखेका छन् ।
उक्त अनुगमन कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जवाहिर अन्सारी, सुरज साह, सुरज खनाल, आनन्द गुप्ता,नुर आलम,एजाजुल अन्सारी,सरोज पाण्डे,भोला यादव,बलिराम गिरि,रोहाब अन्सारी,शैलेश ठाकुर लगायत जेनजी युथ अफ बाराका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
यता अस्पतालका चिकित्सकहरूका अनुसार स्रोतसाधन तथा जनशक्तिको अभावका कारण सेवा प्रवाहमा चुनौती रहेको बताएका दिएका छन्।

