बारा । जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी नायव निरीक्षक (प्रनानि) मनोज साह सोनारलाई २०८३ साल साउन महिनाको उत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ द मन्थ) घोषणा गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले प्रनानि सोनारलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै प्रशंसापत्र तथा पुरस्कार प्रदान गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय बाराको आर्थिक प्रशासन शाखामा दरबन्दी रहेका सोनार हाल प्रहरी चौकी विश्रामपुर–मुसहर्वामा कार्यरत छन्। कार्यक्षेत्रमा इमानदारी, अनुशासन, जिम्मेवारीप्रतिको प्रतिबद्धता तथा प्रहरी सेवामा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उनलाई उत्कृष्ट प्रहरी छनोट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रशंसापत्रमा सोनारले संगठनबाट प्राप्त जिम्मेवारीलाई पूर्णरूपमा लगनशील र कर्तव्यनिष्ठ भई निर्वाह गर्नुका साथै समाजमा शान्ति–सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ।
उत्कृष्ट प्रहरी घोषित सोनारलाई एसपी कुँवरले बधाई तथा शुभकामना दिँदै आगामी दिनमासमेत जिम्मेवारीप्रति थप प्रतिबद्ध भएर काम गर्न प्रोत्साहित गरेका छन्।


