भाडा वृद्धि पछि सिमरा-काठमाडौं उडानमा यात्रु घटे

रञ्जन यादव
273 पाठक संख्या

सिमरा । सिमरा–काठमाडौं हवाई मार्गमा पछिल्ला दिनमा यात्रुको चाप उल्लेखनीय रूपमा घटेको छ। हवाई इन्धनको मूल्य बढेसँगै टिकट दर वृद्धि भएपछि यात्रु संख्या घटेको नागरिक उड्डयन कार्यालय सिमराले जनाएको छ।

यसअघि दैनिक ५ देखि ६ सयसम्म यात्रु आवतजावत गर्ने उक्त रुटमा अहिले करिब २ सय यात्रुमा सीमित भएको तथ्यांक छ। भाडा करिब १ हजार १ सय रुपैयाँले बढेपछि सिमराबाट काठमाडौंका लागि ५ हजार ५ सय ५० रुपैयाँ र काठमाडौंबाट सिमराका लागि ५ हजार १ सय ५० रुपैयाँ तिर्नुपर्ने भएको छ।

यात्रु अभावकै कारण उडानहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। करिब १५ मिनेटको छोटो उडानमा समेत जहाजहरू आधाभन्दा कम यात्रुसहित उडिरहेका छन्। काठमाडौंबाट सिमरा आउने उडानमा करिब २५ जना र सिमराबाट फर्किने क्रममा झन्डै ३० जना मात्र यात्रु हुने गरेको देखिएको छ।

बुद्ध एयर सिमरा कार्यालय प्रमुख सुरेश रेग्मीका अनुसार पछिल्ला दुई सातामा उडानको औसत अकुपेन्सी ५० प्रतिशतमा झरेको छ। उनका अनुसार ‘जेनजी’ आन्दोलनपछि यात्रु संख्या घट्न थालेको हो भने पछिल्लो भाडा वृद्धिले मध्यम वर्गीय यात्रु थप प्रभावित भएका छन्।

सिमरा विमानस्थल मुख्यतः पथलैया–वीरगञ्ज औद्योगिक करिडोरसँग जोडिएका व्यापारिक तथा राजनीतिक यात्राका लागि प्रयोग हुँदै आएको थियो। तर नयाँ सरकार गठनसँगै राजनीतिक गतिविधि घट्दा यात्रु संख्या कम हुन थप असर परेको देखिन्छ।

यता, सडक मार्गको सहज विकल्पले पनि हवाई यात्रामा प्रभाव पारेको छ। सिमरा–काठमाडौं दूरी सडकमार्गबाट करिब चार घण्टामै पार गर्न सकिने भएकाले धेरै यात्रुहरू महँगो भाडाबाट बच्न स्थलमार्ग रोज्न थालेका छन्। ट्राभल व्यवसायीहरूका अनुसार नियमित हवाई यात्रुहरू समेत अहिले सडक यात्रातर्फ आकर्षित भएका छन्।

हाल सिमरा विमानस्थलबाट द्यगममजब ब्ष्च ले मात्र एटीआर–७२ जहाजमार्फत दैनिक पाँच उडान सञ्चालन गरिरहेको छ। अन्य यति एयर, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र नेपाल एयरलाइन्सले भने यस रुटमा सेवा स्थगित गरिसकेका छन्।

Leave a review