मनसुन र आगलागी सचेतनामा समुदाय सशक्त बनाउँदै लुमन्ती

रञ्जन यादव
86 पाठक संख्या

जीतपुर । लुमन्ती आवासका लागि सहयोग समूहको आयोजनामा मनसुन पूर्वतयारी तथा आगलागी सचेतना कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न वडामा सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल (एपीएफ) १२ नम्बर गणको सहजीकरणमा वडा नम्बर ९, ११, १९ र २० का स्थानीय बासिन्दालाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा मनसुनको समयमा हुन सक्ने बाढी, डुबान, चट्याङलगायत प्राकृतिक विपद्बाट जोगिने उपायबारे जानकारी दिइएको थियो। साथै, आगलागी जस्ता आकस्मिक घटनाबाट बच्न अपनाउनुपर्ने सावधानी, प्राथमिक उद्धारका विधि र आगो नियन्त्रणका आधारभूत सीपबारे समेत प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।

सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूले विपद् व्यवस्थापनका व्यवहारिक उपाय, सुरक्षित स्थानतर्फ कसरी स्थानान्तरण गर्ने र आपतकालीन अवस्थामा सम्पर्क गर्नुपर्ने निकायबारे जानकारी गराएका थिए।

लुमन्तीका सामाजिक परिचालक रवि तिवारीका अनुसार कार्यक्रममा जनप्रतिनिधि, टोल विकास समिति, युवा समूह तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

लुमन्तीले समुदायस्तरमै जोखिम न्यूनीकरण र सुरक्षित बासोबास प्रवद्र्धन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। सहभागीहरूले पनि यस्ता सचेतनामूलक कार्यक्रमले विपद् व्यवस्थापनमा समुदायको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया दिएका छन्।

Leave a review