बारा । जिल्ला प्रशासन कार्यालय बाराले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता प्रक्रियालाई थप सहज बनाउँदै अब अनलाइन आवेदन फाराम भर्न नपर्ने व्यवस्था लागू गरेको छ। सेवाग्राहीहरूले अनलाइन फाराम भर्दा भोग्दै आएको समस्या समाधान गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार नेपाल सरकार गृह मन्त्रालयको २०८२ चैत ८ गतेको निर्णयअनुसार केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीबीच सेवा अन्तरआबद्धता कायम भएपछि नयाँ व्यवस्था कार्यान्वयनमा आएको हो। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार काठमाडौंले २०८२ चैत ९ गते सूचना जारी गरेसँगै बारा जिल्लामा पनि यो सेवा सुरु गरिएको उनले जानकारी दिए।
अब २०८२ चैत ८ गतेपछि नागरिकता प्राप्त गर्ने नागरिकहरूले छुट्टै अनलाइन फाराम नभरी नागरिकता प्रमाणपत्र लिएपछि सिधै राष्ट्रिय परिचयपत्र शाखामा गई सेवा लिन सक्नेछन्। तर, उक्त मितिभन्दा अघि नागरिकता प्राप्त गरेका नागरिकहरूको हकमा भने साविककै व्यवस्था अनुसार अनलाइन आवेदन फाराम भरेर सेवा लिनुपर्ने व्यवस्था यथावत रहने जनाइएको छ।

