कलैया । बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत जीतपुर बजार र प्रसौनी गाउँपालिकाको प्रसौनी बजारमा बिहीबार गरिएको संयुक्त बजार अनुगमनका क्रममा अधिकांश पसल बन्द अवस्थामा भेटिएका छन्।
जिल्ला प्रशासन कार्यालय बाराको नेतृत्वमा पुगेको अनुगमन टोलीले खुलेका थोरै पसलहरूमा मात्रै निरीक्षण गर्न सकेको जनाएको छ। अनुगमन हुने खबर फैलिनासाथ बुधबारदेखि नै धेरै व्यवसायीहरूले सटर बन्द गरेका थिए। बिहीबार बजार क्षेत्रमा पुग्दा अधिकांश व्यापारिक प्रतिष्ठान बन्द देखिएपछि टोलीले सञ्चालनमा रहेका पाँच वटा पसलको मात्र अनुगमन गरेको थियो।
जिल्ला प्रशासन कार्यालय बाराका अनुसार न्यु जगदम्बा स्विट्स एण्ड बेकरी, एसियन मार्ट किराना पसल, मामा भान्जा किराना तथा जनरल स्टोर्स, होटल मिष्ठान भण्डार र जय राज चमेना गृहमा निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा ठूला किसिमका अनियमितता फेला नपरे पनि व्यवसायीहरूलाई सरसफाइ, मूल्य सूची राख्ने व्यवस्था, म्याद नाघेका सामग्री व्यवस्थापन तथा उपभोक्ता अधिकारसम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिइएको थियो।
अनुगमन टोलीले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनलाई व्यवस्थित बनाउन नियमित रूपमा निरीक्षणलाई निरन्तरता दिइने जनाएको छ। यस्तै, प्रसौनी गाउँपालिकाको प्रसौनी बजारमा पुगेको टोलीले पनि अधिकांश पसल बन्द रहेको अवस्था फेला पारेको थियो। स्थानीयका अनुसार कारबाहीको डर र अनुगमनको पूर्वसूचनापछि धेरै व्यवसायीहरूले पसल बन्द गरेका हुन्।
संयुक्त अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय बाराका अधिकृत दिपेन्द्र प्रसाद यादव, नायब सुब्बा रत्न स्याङ्तान, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका आशुतोष कुशवाहा, घरेलु तथा साना उद्योग कार्यालय बाराका अलिसरन अन्सारी, गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका जोखन प्रसाद चौहान, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जका जगत चौधरी, जिल्ला प्रहरी कार्यालय बारा तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरू सहभागी रहेका थिए।
टोलीले आगामी दिनमा बजार अनुगमनलाई थप कडाइका साथ अघि बढाइने तथा नियम उल्लंघन गर्ने व्यवसायीमाथि कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ।


