बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्लाका संस्थापक सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज गरेको छ।

रास्वपा केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठद्वारा जारी गरिएको पत्रअनुसार पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा स्वर्णकारमाथि कारबाही गरिएको हो।
२०८३ वैशाख ३० गते बसेको केन्द्रीय समितिको बैठकले स्वर्णकारलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी सदस्यता खारेज गर्ने निर्णय गरेको जनाएको छ।
बारा निवासी स्वर्णकार रास्वपाको स्थापनाकालदेखि नै जिल्ला तहको नेतृत्वदायी भूमिकामा सक्रिय रहँदै आएका थिए। पार्टी हित विपरीत कार्य गरेको भन्दै केन्द्रीय अनुशासन आयोगले गरेको सिफारिसका आधारमा केन्द्रीय समितिले कदम चालेको बुझिएको छ।
उक्त निर्णयको बोधार्थ मधेस प्रदेश समिति र राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला समितिलाई समेत पठाइएको छ। पार्टी स्थापना कालदेखि नै जिल्ला संयोजकका रूपमा काम गरिसकेका स्वर्णकारमाथिको कारबाहीलाई बारामा चासोका साथ हेरिएको छ।


