रौतहट। घटस्थापनासँगै नेपालीको महान चाड बडादशैँ आजदेखि सुरु भएको छ। यस अवसरमा आज रौतहट जिल्लाको प्रमुख व्यापारिक केन्द्र गरुडामा विशाल कलश यात्रा आयोजना गरिएको छ। कलश यात्रामा हजारौंको संख्यामा कुमारी कन्या सहभागी भएको दुर्गा पूजा आयोजक समिति गरुडाले जनाएको छ।
नवरात्रको पहिलो दिन जिल्लाको गरुडा लगाएतका स्थानमा कलश यात्रा निकालिएको छ। गरुडा बजार स्थित रहेको माँ दुर्गा भवानी भन्दिरमा कलस्थापनाका लागि आज बिहान भव्य कलश यात्रा निकालिएको छ ।
दशैंको पहिलो घटस्थापनाका दिन तराई–मधेशका विभिन्न शक्तिपिठ, पण्डालका साथै गरुडामा पनि कलश शोभा यात्रा निकालिएको छ । कलश स्थापना संगै विधिवत रुपमा नवरात्र सुरुवात भएको मानिन्छ । श्रद्वालु भक्तजनहरुले बिहानै दुर्गा मन्दिरमा पूजापाठ गरेपछि हजारौंको सङ्ख्यामा महिला ,युवती , कन्या कुमारीहरुद्वारा कलश यात्रा निकालिएको थियो।
प्रत्येक वर्ष जस्तै गरुडा स्थित दुर्गा भवानी मन्दिरको प्राङ्गणबाट बाँजागाँजासहित निकालिएको कलश यात्राले गरुडा नगरपालिकाका विभिन्न भागको परिक्रमा गर्दै झाझ नदीमा कलशबाट जल भरेर पुन: दुर्गा मन्दिरमा स्थापित गरिएको छ।
भजन कीर्तन र बाजागाजासाथ भक्तिमय वातावरणमा आयोजना गरिएको कलश यात्रामा हजारौँ भक्तजनको सहभागिताले गरुडा अहिले भक्तिनगरमा परिणत भएको छ। नवदुर्गाको जय गानसाथ झाझ नदीबाट पवित्र जलपात्र बोकेर सुरु भएको कुमारी कन्याको विशाल कलश यात्राले बजारक्षेत्र परिक्रमा गरेको थियो।
कलश यात्रामा धर्मपरायण नरनारी, पेसाकर्मी, व्यापारीलगायत श्रद्धालुको विशाल सहभागिताले महान पर्वको गौरव र गरिमा बढाएको आयोजक समितिले जनाएको छ। त्यहीँ मालश्री धुन र दुर्गा सप्तशतीको पवित्र गुञ्जनले नगर क्षेत्र अहिले भक्तिरसमा डुबेको छ। गरुडा दुर्गा मन्दिरमा स्थापना गरिएको कलशको आजदेखि ९ दिनसम्म पूजापाठ गर्ने प्रचलन छ।
विजया दशमीको अवसरमा गरुडा दुर्गा मन्दिर स्थित भव्य मेला समेत लाग्ने भएको छ। भगवती दुर्गा भवानीको मन्दिर यतिबेला रङ्गरोगन गरि दुल्ही झै सजाइएको छ ।
कलश यात्रा कार्यक्रममा गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवाल, गरुडाका वडा अध्यक्ष सुनिल कुमार जयसवाल लगाएतका जनप्रतिनिधि, नागरिक समाजका अगुवा, समाजसेवी, उद्योगी, व्यापारी, बुद्धिजीवी, राजनीतिक दलका नेताहरु लगाएत श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो।









