कलैया : बाराको सदरमुकाम कलैयास्थित मानमत–कलैया–मटिअर्वा हुलाकी सडक खण्डको साढे तीन किलोेमिटर सडक अलपत्र अवस्थामा रहेको छ। कलैया बजार क्षेत्रको सडक निर्माण कार्यमा ढिलाइ गरेको भन्दै वीरगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले ठेकेदार कम्पनीलाई कडा चेतावनी दिएको छ।
निर्देशनालयले श्री सप्तकोसी जलाधार–ओम साई एन्ड कम्पनी जेभीलाई यस्तो चेतावनी दिएको हो। ठेक्का सम्झौता रद्द गर्ने सम्भावनासहित १५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। असोज ३१ गते जारी सूचनामा निर्देशनालयले ठेकेदार कम्पनीले पटक–पटक सम्झौता मिति र निर्देशनहरू उल्लङ्घन गरी काममा ढिलाइ गरेको लेखेको छ।
ठेक्का सम्झौता किन रद्द नगर्ने भन्ने विषयमा कारण बताउन कार्यालयले भनेको छ। सडक निर्माणको जिम्मा पाएको उक्त कम्पनीको प्रगति असन्तोष जनक रहेको निर्देशनालयले जनाएको हो।
ठेकेदार कम्पनीले तोकिएको समय सीमाभित्र काम अगाडि नबढाउँदा स्थानीयवासी र व्यवसायीहरूले धुलो र हिलोको सास्ती खेप्नुपरेको छ।
निर्देशनालयले निर्माण कार्य तत्काल अगाडि बढाउन निर्देशन दिएको छ। तोकिएको समयमा सन्तोषजनक जवाफ नदिइएमा वा काम सुरु नभएमा कारवाही अगाडी बढाउने जनाएको छ। सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९, सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११८ र सम्झौता धारा ७२.१ बमोजिम आवश्यक कारबाही अघि बढाइने सूचनामा लेखिएको छ। ठेक्का सम्झौता रद्द सम्म गर्ने प्रावधान ऐनमा समावेश छ।


