भोला माध्यमिक विद्यालयमा टेक ल्याब एण्ड मेकर स्पेस भवन उद्घाटन

संदिप प्रसाद यादव
89 पाठक संख्या

कलैया । बाराको महागढीमाई नगरपालिका-१० गन्जभवानीपुरस्थित श्री भोला माध्यमिक विद्यालयमा टेक ल्याब एण्ड मेकर स्पेस भवनको उद्घाटन गरिएको छ । विद्यालय परिसरमा जनजागरण युवा क्लबको आयोजनामा बिहीबार आयोजित एक कार्यक्रमबीच उक्त भवनको उद्घाटन प्रमुख अतिथि कोईका का प्रोग्राम म्यानेजर डङ्गग्यु किमले गरेका हुन् ।

सेभ द चिल्ड्रेन र कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोईका) को आर्थिक सहयोग, जनजागरण युवा क्लब बाराको साझेदारी तथा महागढीमाई नगरपालिकाको समन्वयमा सञ्चालित ‘इन्सपायर्ड परियोजना’ अन्तर्गत विद्यालयमा उक्त भवन निर्माण गरिएको हो । इडि टेक ल्याब २२ लाख ५० हजार ५६१ रुपैयाँ ५९ पैसा तथा मेकर स्पेस ९ लाख ४९ हजार ४१० रुपैयाँ ८४ पैसाको लागतमा निर्माण गरिएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डङ्गग्यु किमले बदलिँदो समयसँगै प्राविधिक शिक्षाको महत्त्व झन् बढ्दै गएको बताए । उनले विद्यार्थीहरूलाई विद्यालयमा स्थापना गरिएको मेकर स्पेस र टेक ल्याबको अधिकतम प्रयोग गर्दै आफ्नो सीप, सिर्जनशीलता र क्षमता अभिवृद्धि गर्न आग्रह गरेका छन् । साथै, आगामी दिनहरूमा पनि विद्यालयको शैक्षिक तथा प्राविधिक विकासका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा महागढीमाई नगरपालिका का उप-प्रमुख तारा देवी कानु, वडा नम्बर-१० का वडा अध्यक्ष चन्दन कुमार, जनजागरण युवा क्लबका कार्यवाहक अध्यक्ष राजदेव साह, प्रोग्राम डेभलपमेन्ट, क्वालिटी एण्ड इन्फ्लुएन्सका डाइरेक्टर आयुष जोशी, एससीआईका मिनजी काङग, कोईकाका सोरा बेक, सोवान हान, सेभ द चिल्ड्रेनका कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीहरू लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक भोला कुशवाहाले गरेका थिए भने सञ्चालन कक्षा-१० मा अध्ययनरत विद्यार्थी रिया शर्मा र ओमशंकर पण्डितले गरेका थिए ।

Leave a review

This will close in 0 seconds